उर्लाबारी, २६ साउन । मोरङको उर्लाबारी नगरपालिका–१ कोपीला चोकमा जंगली च्याउ खाँदा एकै परिवारका चार जनासहित पाँच जना बिरामी भएका छन् । बिरामीमध्ये डेढ महिनाकी सुत्केरी आमा समेत छिन् ।
सोमबार बिहान करिब ९ बजेतिर घर नजिकैको जंगलबाट ल्याइएका च्याउ पकाएर खाएपछि वर्ष ४५ का होम दहाल, उनकी श्रीमती वर्ष ४४ की जमुना दहाल, छोरी वर्ष ६ की बिमकला दहाल र वर्ष ४ की बविता दहालमा केही छिन पश्चात चक्कर लाग्ने, पेट दुख्ने, टाउको दुख्ने जस्ता समस्या देखिएको थियो ।
उनीहरूमा यस्ता समस्या देखिन थालेपछि स्थानियको सहयोगमा तत्काल उर्लाबारी–३ मगलबारे स्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।
अस्पतालका मेडिकल सुपरीटेन्डे रवि कुमार शाहका अनुसार, हाल होम दहाल र उर्मिला दनुवारको उपचार मदनमै भइरहेको छ भने, च्याउको विषादीको असर ४८ घण्टासम्म रहन सक्ने भएकाले बालिकाहरूमा थप जटिलता नहोस् भनी आमा र बालिकालाई उर्लाबारी नगरपालिकाका मेयर गंगा प्रसाद खरेलको पहलमा विराटनगरस्थित नोवेल मेडिकल कलेज पठाइएको हो ।
उपचारमा संलग्न डाक्टर ब्रोमिस बुढाथोकीका अनुसार, पाँचै जनामा समान प्रकारका लक्षण देखिए पनि बालबालिकामा विषादीको असर गम्भीर हुन सक्ने भएकाले सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको बताउनुभयो ।
यस्तै, सोही च्याउ बाँडेर खाएकी छिमेकी वर्ष २३ की उर्मिला दनुवारलाई पनि समान लक्षण देखिएको छ । डेढ महिनाकी सुत्केरी दनुवारको हाल मदन भण्डारी अस्पतालमै उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । उनको बच्चामा भने त्यस्तो लक्षण देखा नपरेको र आमाले बच्चालाई दुध नचुसाएको जानकारी दिएको अस्पतालले बतायो ।
विषादीयुक्त च्याउ खादा देखा पर्ने स्वास्थ्य समस्या यस्ता छन्‌ः
१.विषादीयुक्त वा विषालु च्याउ खाँदा पेट दुखाइ, बान्ता, टाउको दुखाइ, दृष्टि धमिलो हुने, बेहोस हुने लगायतका गम्भीर समस्या आउन सक्छ ।
२.च्याउ खानुअघि यसको प्रजाति र सुरक्षाबारे प्रष्ट जानकारी लिनुहोस् ।
३. कुनै लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय