उर्लाबारी, ८ भदौ । मोरङको उर्लाबारी स्थित उर्लाबारी बहुमुखी क्याम्पसको शनिबार सम्पन्न निर्वाचनले नयाँ समीकरण जन्माएको छ।

निर्वाचनमा होमिएका ३८ उम्मेद्वार मध्ये निर्वाचित १५ मध्ये ८ जना प्रगतिशील संयुक्त गठबन्धन (नेकपा एमाले, माओवादी केन्द्र र नेकपा (एस)) बाट विजयी भएका छन् भने ७ जना लोकतान्त्रिक गठबन्धन (नेपाली कांग्रेस, राप्रपा, जसपा र संघीय लिम्बुवान पार्टी) बाट चयन भएका छन्।

साना संख्यात्मक हिसाबले प्रगतिशील गठबन्धनलाई स्पष्ट बहुमत मिलेको भए पनि नेतृत्व स्थायित्व प्राप्त गर्ने ग्यारेन्टी भने छैन।

कारण– दलगत भागबण्डा र पद बाँडफाँडको खेल, जसले विगतमा उर्लाबारीका विभिन्न संस्थागत नेतृत्वलाई बारम्बार अस्थिर बनाएको छ ।

सबैभन्दा बढी मत ल्याउने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार:

आइतबार बिहान सम्पन्न मतगणना अनुसार व्यक्तिगत लोकप्रियतामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अगाडि छन्।

मुक्तिप्रकाश न्यौपानेले सर्वाधिक ३३३ मत पाए भने डा. हरिबाबु दाहाल (३२९), योगेन्द्र कटुवाल (३२०), प्रेम डाँगी (२९९) पनि शीर्ष स्थानमा परे। यसको अर्थ, जनमतको वटुलिएको आधार लोकतान्त्रिक पक्षमा अझै मजबुत छ। तर, गठबन्धन गणितमा भने उनीहरू पछाडि छन ।

बहुमतले स्थिरता ल्याउँछ कि फेरि भागबण्डा ?

प्रगतिशील गठबन्धनले संख्यात्मक हैसियतमा अब समितिको नेतृत्व आफ्नो हातमा लिने सम्भावना बलियो छ। तर, अध्यक्ष, उपाध्यक्षजस्ता प्रमुख पदमा भागबण्डा गर्नुपर्ने स्थिति आउन सक्छ। किनकि उर्लाबारीमा राजनीतिक दलहरूले “एक संस्थामा छाड्ने–अर्कोतिर पाउने” शैलीमा सत्ता–सन्तुलन गर्ने चलन पुरानो छ।

उर्लाबारी क्याम्पसको यो चुनाव परिणाम केवल अंकगणितीय बहुमतको भार नभई आगामी नेतृत्वको गुणस्तर र स्थायित्वबारे गम्भीर परीक्षण बन्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय