उर्लाबारी, २६ असोज गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन पछि देशभरका परम्परागत राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र भित्र नेतृत्व परिवर्तन र पुस्ता हस्तान्तरणको माग तीव्र बनेको छ ।
पुरानो राजनीतिक संरचना र सोचले नयाँ पुस्ताको चाहना पुरा गर्न नसकेको भन्दै युवा पुस्ताले “परिवर्तन अब दलभित्रैबाट सुरु हुनुपर्छ” भन्ने स्वर बुलन्द बनाइरहेका बखत कांग्रेसको बलियो किल्ला मानिएको मोरङका ६ वटै निर्वाचन क्षेत्रमा जेन–जी पुस्ताको भावना र मागलाई आत्मसात् गर्दै पार्टी पुनःसंरचना र नेतृत्व हस्तान्तरणको पक्षमा हस्ताक्षर अभियान सुरु गरिएको छ ।
मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रका कार्यकर्ताबीच अहिले कांग्रेसलाई समयसापेक्ष बनाउन नेतृत्वमा नयाँ सोच र दृष्टिकोण आवश्यक भएको धारणा बलियो बनेको छ । सोही सन्दर्भमा मोरङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका कोशी प्रदेश सह–महामन्त्री खड्ग बहादुर फागोको नेतृत्वमा विशेष महाधिवेशनको समर्थनमा हस्ताक्षर अभियान सुरु गरिएको हो ।
फागोका अनुसार, “यो कुनै गुट वा समूहको अभियान होइन, पार्टीलाई जनतामुखी, समयानुकूल र सक्षम बनाउने उद्देश्यले नेतृत्व हस्तान्तरणको पक्षमा उठाइएको कदम हो।”
उनले जेन–जी आन्दोलनपछि देशको राजनीतिक दिशामै परिवर्तन आएको उल्लेख गर्दै त्यसअनुसार कांग्रेसको नीति, संगठन र नेतृत्वमा नयाँ सोच र पुस्ताको प्रतिनिधित्व अनिवार्य भएको बताए ।
मोरङ क्षेत्र नं. १ का २५ जना महाधिवेशन प्रतिनिधिमध्ये हालसम्म १८ जनाले हस्ताक्षर गरेर अभियानमा समर्थन जनाइसकेका छन् । विदेशमा रहेकी प्रतिनिधि उषा राईले समेत पत्रमार्फत अभियानप्रति समर्थन जनाएकी छन् ।
हालसम्मको तथ्याङ्कअनुसार, मोरङ जिल्लाभर ७०.३४ प्रतिशत प्रतिनिधिहरूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेका छन् । यद्यपि अन्य निर्वाचन क्षेत्रहरूको विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन ।
प्रतिनिधिहरूले सो अभियानमार्फत नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १७, उपधारा (२) अनुसार विशेष महाधिवेशन आह्वान गर्न माग गरेका छन् ।
देशभर समान धारणा बोक्ने अभियान आईतबारसम्म जारी रहने जनाएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यो अभियानले नेपाली कांग्रेस भित्रको जेन–जी पुस्तालाई संस्थागत रूपमा अगाडि ल्याउने र दलभित्र परिवर्तनको नयाँ अध्याय सुरु गर्ने संकेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय