काठमाडौं, १ मसिर । राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाता संस्थाहरूलाई सम्मान गर्ने समारोहमा मोरङस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताका रूपमा विशेष सम्मानित भएको छ।
विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा उल्लेखनीय कर तिरेर राज्यको राजस्व प्रणाली सुदृढीकरणमा महत्वपूर्ण योगदान गरेको आधारमा नोबेल मेडिकल कलेजलाई सम्मान प्रदान गरिएको हो। स्वास्थ्य तथा शिक्षा सेवा क्षेत्रमा दीर्घकालदेखि सेवा विस्तार गर्दै आएको नोबेल लगातार उत्कृष्ट करदाताको सूचीमा अग्रस्थानमा रहँदै आएको छ।




कार्यक्रममा अन्य श्रेणीका उत्कृष्ट करदाताको नाम पनि सार्वजनिक गरिएको थियो। संस्थागत करदातामध्ये सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल दूरसञ्चार प्राधिकरण पहिलो स्थानमा रह्यो भने व्यक्तिगत करदातातर्फ राजबहादुर शाह उत्कृष्ट घोषित भए।
एकलौटी फर्म श्रेणीमा थर्ड आइ इन्टरनेशनल, वस्तु निर्माणमा डाबर नेपाल, सूचना प्रविधि सेवा निर्यातमा ओरिक्स नेपाल प्रालि, कृषि तथा पशुपन्छीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रालि, बैंक तथा वित्तीय सेवामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट ठहरिए।
त्यसैगरी पर्यटनतर्फ सोल्टी होटल लिमिटेड, र वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि सम्मानित भए।
५० देखि १०० करोड समूहमा ब्रिडिएस एण्ड क्लियरिङ लिमिटेड छानियो भने डमीमूलक उद्योग श्रेणीमा भोटेकोशी पावर कम्पनी प्रालि सबैभन्दा बढी कर तिर्नेमा पर्यो। रेमिट्यान्स तथा मनी ट्रान्सफर श्रेणीमा आईएमई लिमिटेड उत्कृष्ट रह्यो। निर्यातमुखी उद्योगतर्फ यूनिलिभर नेपाल लिमिटेड ले सम्मान प्राप्त गर्यो।
नोबेल मेडिकल कलेजको निरन्तर कर योगदानले निजी स्वास्थ्य क्षेत्रले राष्ट्रको राजस्व संरचनामा बाँधिरहेको महत्त्वपूर्ण भूमिका पुनः पुष्टि भएको विभागले जनाएको छ।




