उर्लाबारी, ५ जेठ । मोरङको उर्लाबारी–१ स्थित लक्ष्मीझार क्षेत्र मगलबार सांस्कृतिक रंगले झलमल्ल बनेको छ । धिमाल समुदायले हरेक वर्ष मनाउँदै आएको परम्परागत ‘जातिरी’ मेला यस वर्ष पनि धार्मिक आस्था र सामुदायिक एकताको सन्देशका साथ भव्य रूपमा सम्पन्न भएको हो ।
लक्ष्मीझार गाउँटोल समितिको आयोजनामा सम्पन्न मेलामा स्थानीय बासिन्दा मात्र होइन, आसपासका गाउँ–नगरबाट समेत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । मेलाले पुरानो पुस्ता र नयाँ पुस्ताबीच सांस्कृतिक सेतुको काम गरेको आयोजकहरूले बताएका छन् ।
पूर्वी नेपालको रैथाने समुदायका रूपमा चिनिने धिमाल जाति प्रकृतिपूजक परम्परामा विश्वास राख्छन् । वन, नदी, खोल्सा, आकाश, सूर्य र चन्द्रलाई देवत्वका रूपमा सम्मान गर्दै आएका धिमालहरूले जातिरी मेलामार्फत उब्जनी राम्रो होस्, समयमै वर्षा होस् र गाउँ–समाजमा सुख, शान्ति र समृद्धि कायम रहोस् भन्ने कामना गर्ने गर्दछन् । मेलाको अवसरमा परम्परागत विधिअनुसार पूजा–आराधना सम्पन्न गरिएको थियो ।
मेलाको अर्को आकर्षण परम्परागत खानपान र स्थानीय उत्पादन रहे । जुलफी, बगुरको मासु, तोङवा लगायतका परिकारले आगन्तुकको ध्यान खिचेको थियो । साथै बालबालिकाका लागि झूला, खेल तमासा र मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गरिएका थिए । स्थानीय उत्पादनका स्टलहरूले आर्थिक क्रियाकलाप समेत चलायमान बनाएको देखिन्थ्यो ।
उर्लाबारी नगरपालिकाले धिमाल समुदायलाई नगरको पहिलो जातिका रूपमा घोषणा गर्दै सम्मान गरिसकेको सन्दर्भमा यस प्रकारका सांस्कृतिक कार्यक्रमले समुदायको ऐतिहासिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
जातिरी मेला केवल मनोरञ्जनको थलो मात्र नभई धिमाल समुदायको मौलिक संस्कृति, परम्परा र सामुदायिक ऐक्यबद्धताको सशक्त प्रतीकका रूपमा स्थापित हुँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय