कुमार खड्का उर्लाबारी, २९ भदौ । सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन लिएर परीक्षा केन्द्र पुगेका इन्जिनियरमाथि सरकारी स्रोतसाधनको दुरुपयोग गरेको गम्भीर प्रश्न उठेको छ। अझ रोचक पक्ष त के छ भने, सरकारी गाडी परीक्षा केन्द्रमा पुगेको विषयमा केरकार सुरु भएपछि गाडीका चालकलाई जिम्मा लगाएर सम्बन्धित कर्मचारी भने घटनास्थलबाट सुटुक्क टाप कसे ।
भदौ २८ गते आइतबार सार्वजनिक बिदाका दिन सुनसरीको इटहरीस्थित भौतिक पूर्वाधार विकास निर्देशनालय र झापाको चन्द्रगढीस्थित भौतिक पूर्वाधार विकास कार्यालयसँग सम्बन्धित सरकारी सवारीसाधन उर्लाबारी–३ स्थित मदन भण्डारी प्रतिष्ठान नेपालको परिसरमा भेटिएपछि सरकारी गाडीको प्रयोगबारे प्रश्न उठेको हो।




स्थलगत रिपोर्टिङका क्रममा दिउँसो करिब १ः३० बजे प्रतिष्ठान परिसरअगाडि भौतिक पूर्वाधार विकास निर्देशनालय इटहरीको कोशी प्रदेश १–०२–००१ झ ०८५६ नम्बरको सरकारी गाडी पार्किङ गरिएको अवस्थामा भेटिएको थियो। त्यसैगरी भौतिक पूर्वाधार विकास कार्यालय, झापा चन्द्रगढीको प्रदेश १–०१–०१ ब ११५७ नम्बरको सरकारी मोटरसाइकलसमेत त्यही क्षेत्रमा देखिएको थियो।
घटनाको सूचना पाएपछि सरकारी गाडी त्यहाँ किन पुग्यो भन्नेबारे जानकारी लिँदा गाडीका चालक महेश मगरले सुरुमा आफू गाडी मर्मतका लागि झापाको बिर्तामोडस्थित भाग्यलक्ष्मी वर्कसप पुगेको र त्यहाँबाट फर्किएको बताएका थिए।
तर घटनास्थलमा गरिएको थप जाँचका क्रममा गाडीभित्रै परीक्षार्थीले प्रयोग गर्ने प्रश्नपत्र भेटिएपछि चालकको प्रारम्भिक भनाइ र घटनास्थलको वास्तविक अवस्थाबीच विरोधाभास देखिएको थियो ।
गाडीभित्र भेटिएको प्रश्नपत्र सोही दिन मदन भण्डारी प्रतिष्ठानमा सञ्चालन भइरहेको इन्जिनियरिङ फ्याकल्टीअन्तर्गत मास्टर लेभलको परीक्षासँग सम्बन्धित रहेको पुष्टि भएपछि सरकारी गाडी निजी परीक्षा प्रयोजनका लागी एकोहोरो ४० किलोमिटर को दुरी पार गर्न प्रयोग भएको प्रमाण थप बलियो बनेको हो।
त्यसपछि अस्थायी प्रहरी चौकी मङ्गलबारेबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले सरकारी गाडी र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप बुझ्ने प्रक्रिया अघि बढाएको हो । तर प्रहरी घटनास्थलमा पुग्नुअघि नै अर्को सरकारी सवारीसाधन मोटरसाइकल चालक ईन्जिनियर भने बाहिरीसकेका थिए ।
सरकारी मोटरसाइकलमा आएका परिक्षार्थी:
भौतिक पूर्वाधार विकास कार्यालय, झापा चन्द्रगढीमा कार्यरत इन्जिनियर अनिल नेपालीले प्रयोग गर्ने सरकारी मोटरसाइकल पनि परीक्षा केन्द्र परिसरमा भेटिएको थियो। तर प्रहरी पुग्नुअघि नै उनी मोटरसाइकल लिएर बाहिरिएका थिए।
स्थलगत रिपोर्टिङका क्रममा उनलाई सार्वजनिक बिदाको दिन सरकारी मोटरसाइकल कुन प्रयोजनका लागि प्रयोग गरिएको हो भनेर प्रश्न गर्दा उनले ‘फिल्डबाट फर्किएको’ जवाफ दिएका थिए। उनि झापाको चन्द्रगडी कार्यालयमा कार्यरत कर्मचारी हुन चन्द्रगडीबाट परिक्षा केन्द्र लगभग एकोहोरो ५५ किलोमिटर टाढा पर्दछ ।
तर प्राप्त सूचना तथा स्थलगत रिपोर्टिङका क्रममा भने उनी सोही दिन सञ्चालन भइरहेको मास्टर लेभलको परीक्षामा सहभागी भएर बाहिरिएको दाबी गरिएको छ।
सार्वजनिक बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत शैक्षिक प्रयोजनमा प्रयोग भएको विषयमा सम्बन्धित कार्यालयले छानबिन गर्नुपर्ने देखिन्छ। सरकारी सवारीसाधन कार्यालयको नियमित काम वा स्वीकृत सरकारी प्रयोजनका लागि प्रयोग भएको हो वा व्यक्तिगत कामका लागि, त्यसको यकिन गर्ने जिम्मेवारी सम्बन्धित कार्यालय र प्रशासनको हो।
सरकारी गाडीमा इन्जिनियर र गैरकर्मचारी:
घटनालाई अझ गम्भीर बनाउने अर्को पक्ष हो, सरकारी गाडीमा को–को सवार थिए भन्ने प्रश्न ?
पुर्वी प्रेसलाई प्राप्त विवरणअनुसार भौतिक पूर्वाधार विकास निर्देशनालय, इटहरीअन्तर्गत कार्यरत इन्जिनियर पुनम बजाज सरकारी गाडीमा उर्लाबारी आएको बताइएको छ। उनीसँगै उनकी नातेदार बहिनी रिया बजाज पनि रहेको चालक महेश मगरले प्रारम्भिक चरणमा बताएका थिए। रिया बजाज सम्बन्धित कार्यालयकी कर्मचारी नभएको चालकको भनाइ छ।
यदि चालकको उक्त भनाइलाई आधार मान्ने हो भने, कार्यालय प्रयोजनका लागि उपलब्ध सरकारी गाडीमा सार्वजनिक बिदाको दिन एक कर्मचारीसँगै गैरकर्मचारी व्यक्ति किन सवार थिइन, कसरी उनले सरकारी गाडिको दुरुपयोग गर्न पुगिन भन्ने गम्भिर प्रश्न उब्जिएको छ ?
त्यसमाथि सरकारी गाडी परीक्षा केन्द्रमा पुग्नु, गाडीभित्र परीक्षासँग सम्बन्धित प्रश्नपत्र भेटिनु र त्यसमा सम्बन्धित कार्यालयका कर्मचारीको नाम जोडिनुले घटनाको उद्देश्यबारे थप छानबिन आवश्यक देखिएको छ।
चालकले प्रारम्भिक चरणमा कर्मचारीको बचाउ हुने गरी गाडी मर्मतबाट फर्किएको बताएका थिए। तर गाडीभित्र प्रश्नपत्र भेटिएपछि उनले उक्त गाडीमा ग्रामीण विकास शाखामा कार्यरत इन्जिनियर पुनम बजाज र उनकी नातामा बहिनी पर्ने रिया बजाजलाई लिएर आएको स्वीकार गरे।
बिदाको दिन सरकारी गाडी चलाउने अनुमति कस्ले दियो ?
हाम्रो स्थलगत रीपोर्टीङको मूल प्रश्न यही नै थियो की, सार्वजनिक बिदाको दिन सरकारी गाडी परीक्षा केन्द्रसम्म लैजान सम्बन्धित कार्यालयबाट अनुमति लिइएको थियो कि थिएन भन्ने ? सरकारी सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न पाइन्छ कि पाइँदैन ? यदि कार्यालयको स्वीकृति थियो भने कुन प्रयोजनका लागि, कसको नाममा र कस्को आदेशका आधारमा सवारी परिचालन गरिएको थियो ? चालकलाई सवारी सञ्चालनको लिखित आदेश दिइएको थियो कि थिएन ? यी प्रश्नको जवाफ हामीले सम्बन्धित कार्यालयका प्रमुख शुसिल श्रेष्ठ सग बुझ्न खोज्दा उनिसग सम्पर्क हुन सकेन।
सरकारी सवारीसाधन नागरिकले तिरेको करबाट सञ्चालन हुन्छ। त्यसैले सार्वजनिक पदमा रहेका कर्मचारीले सरकारी साधन प्रयोग गर्दा कार्यालयीय प्रयोजन, स्वीकृति र प्रचलित प्रशासनिक व्यवस्थाको पालना गर्नुपर्ने हुन्छ।
तर सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर परीक्षा केन्द्रसम्म पुग्ने, गाडीमा परीक्षासँग सम्बन्धित प्रश्नपत्र भेटिने र घटनाबारे केरकार सुरु भएपछि सम्बन्धित व्यक्तिहरू घटनास्थलबाट बाहिरिएको घटनाले सरकारी सवारीसाधनको प्रयोगमाथि गम्भीर प्रश्न उठाएको छ।
कार्यालय प्रमुख सम्पर्क बिहिन:
घटनाबारे जानकारी लिन स्थलगत रूपमा प्रहरी टोलीले भौतिक पूर्वाधार विकास निर्देशनालय, इटहरीका कार्यालय प्रमुख शुसिल श्रेष्ठसँग सम्पर्क गर्ने प्रयास गरे पनि तत्काल सम्पर्क हुन सकेन ।
त्यसपछि पुर्वी प्रेसले समेत कार्यालय प्रमुख श्रेष्ठसँग सम्पर्क गरी घटनाबारे कार्यालयको आधिकारिक धारणा बुझ्ने प्रयास गरेको थियो। तर यो समाचार तयार पार्दासम्म उनीले फोन गरेनन ।
यद्यपि सम्बन्धित कार्यालयको आधिकारिक जवाफ प्राप्त गर्ने हाम्रो प्रयास हने जारी रहेको छ।
सरकारी गाडी प्रयोगका लागि कार्यालयबाट अनुमति थियो कि थिएन ? गैरकर्मचारीलाई सरकारी गाडीमा किन ल्याइयो ? र घटनाबारे केरकार सुरु भएपछि सम्बन्धित व्यक्तिहरू किन घटनास्थलमा रहेनन, गाडीका चालकलाई आफ्नो ब ईमानीको ढाकछोप गर्न उच्च तहका कर्मचारीले किन यसरी प्रयोग गर्छ्न ? यी सबै प्रश्नको निष्पक्ष छानबिनबाट मात्रै वास्तविकता बाहिर आउनेछ।
यो घटना सामान्य सवारी प्रयोगको विषय मात्र नभई सरकारी स्रोत–साधनको सम्भावित दुरुपयोग, पदको मर्यादा र प्रशासनिक जवाफदेहितासँग जोडिएको विषय भएकाले सम्बन्धित कार्यालय, प्रशासन तथा आवश्यक परे अनुसन्धान निकायले तथ्यमा आधारित छानबिन गर्नुपर्ने देखिन्छ।
सरकारी गाडी जनताको सम्पत्ति हो। त्यसको चाबी कर्मचारीको हातमा पुगो भन्दैमा सार्वजनिक बिदाका दिन व्यक्तिगत प्रयोजनमा चलाउन पाउने छुट कसैलाई हुँदैन। त्यसैले यो घटनाको वास्तविकता छानबिनबाट बाहिर ल्याउनु र दोषी देखिए कारबाहीको दायरामा ल्याउनु सम्बन्धित निकायको दायित्व हो।

Screenshot



