– निशा खड्का
उर्लाबारी, साउन १५ । खेतितीपाती कहिल्यै नछोड्नुू भन्ने बुवाको सल्लाह उर्लाबारी नपा–८ का झमक गौतमले बाल्यकालदेखि नै सुन्दै आउनुभएको थियो । त्यतिबेला उहाँलाई कृषि भनेको शिक्षित व्यक्तिले गर्ने पेशा होइन, पढ्न नपाएकाहरुको विकल्प मात्र हो भन्ने लाग्थ्यो। सरकारी जागिर, अध्यापन वा निजी क्षेत्रमा रोजगारी नै सम्मानजनक पेशा मानिने उ बेलाको सामाजिक परिवेशमा हुर्कनुभएका गौतमले समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभयो ।
उच्च शिक्षा पूरा गरेपछि उहाँले २०६० सालदेखि मकवानपुरको लेकाली बासीफाँट माध्यमिक विद्यालयमा करिब ११ वर्षसम्म प्राध्यापकका रुपमा अध्यापन गर्नुभयो । तर पारिवारिक आवश्यकता, न्यून तलब–सुविधा र तत्कालीन द्वन्द्वकालीन परिस्थितिका कारण उहाँ वैदेशिक रोजगारीतर्फ आकर्षित हुनुभयो । अध्यापन पेशा छोडेर दक्षिण कोरिया पुग्नुभएका गौतमले पाँच वर्षसम्म कारका पार्टपुर्जामा रङ लगाउने उद्योगमा काम गर्नुभयो ।
विदेशमा रहँदा परिवारको अभाव र आफ्नै देशमा श्रमको सम्मानसहित जीविकोपार्जन गर्ने सम्भावनाबारे उहाँ गम्भीर रुपमा सोच्न थाल्नुभयो । यही क्रममा युट्युबमार्फत आधुनिक कृषि प्रविधि र सफल किसानका अनुभवहरु हेर्दै जाँदा उहाँभित्र पुनः कृषिप्रतिको मोह जाग्यो ।
नेपाल फर्किएपछि उहाँले स्थानीय कुखुरा पालनबाट कृषि यात्रा सुरु गर्नुभयो। करिब ५०० वटा चल्लाबाट सुरु गरिएको व्यवसायले अपेक्षित सफलता दिन सकेन । बजार व्यवस्थापनको कठिनाइ र आर्थिक घाटाका कारण उहाँले कुखुरा पालन बन्द गर्नुपर्यो । त्यसपछि परम्परागत रूपमा धान, मकै र तोरी खेती गरे पनि त्यसबाट स्थायी आर्थिक सुनिश्चितता हुन सकेन । वैकल्पिक आम्दानीको खोजीमा उहाँ केही समय सुनचाँदी व्यवसायमा समेत लाग्नुभयो। तर कोरोना महामारीले त्यो व्यवसाय पनि प्रभावित भएपछि उहाँ पुनः कृषि क्षेत्रमा नै फर्किनुभयो ।
२०८१ सालदेखि कुनै अन्य व्यवसाय नगरी पूर्ण रूपमा कृषि कर्मबाटै जीवनयापन गर्ने दृढ अठोटका साथ उहाँले व्यावसायिक केरा खेती सुरु गर्नुभयो । प्रारम्भमा ३२५ वटा चिनीचम्पा र ८०० वटा जी–९ जातका बिरुवा रोपेर सुरु गरिएको खेती आज करिब १.५ बिघा क्षेत्रफलमा विस्तार भइसकेको छ ।
वर्षमा एकपटक मात्र उत्पादन हुने यस बालीबाट उहाँले वार्षिक करिब ६ देखि ७ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । उत्पादन खर्च करिब ४० प्रतिशत हुने उहाँ बताउनुहुन्छ । आम्दानीका थप स्रोत सिर्जना गर्न उहाँ अहिले केराबारीमा भुइँकटहर अन्तरबाली प्रणाली अपनाउने तथा केराको रेशा प्रशोधन सम्बन्धी प्रविधि अध्ययनमा जुट्नुभएको छ ।
खेती विस्तारसँगै चुनौती पनि कम छैनन् । विशेषगरी दक्ष कामदारको अभाव र श्रम व्यवस्थापन अहिलेको प्रमुख समस्या रहेको उहाँको अनुभव छ। रोग तथा कीरा व्यवस्थापनका लागि विषादी छर्दा सानो स्प्रे ट्यांकी प्रयोग गर्नुपर्ने भएकाले धेरै समय लाग्ने र हावाले विषादीका कण आफ्नै शरीरमा पर्ने समस्या समेत उहाँले भोग्नुभएको छ ।
उहाँका अनुसार विगतमा गुभो कुहिने रोग देखा परेको थियो, जुन नगरपालिकाका कृषि प्राविधिकहरूको प्राविधिक सहयोगमा नियन्त्रण गर्न सफल भएको थियो। हाल भने केराको कोसामा छिर्का देखिने समस्या देखा परिरहेको छ, जसको व्यवस्थापनका लागि उहाँ थप प्राविधिक परामर्श लिइरहनुभएको छ ।
केरा खेतीबाट प्राप्त सन्तोषजनक आम्दानीले गौतमलाई थप उत्साहित बनाएको छ। आगामी दिनमा थप जग्गा भाडामा लिएर खेती विस्तार गर्ने उहाँको योजना छ । उहाँको यात्राले सही सोच, निरन्तर सिकाइ र धैर्यका साथ कृषि पेशालाई आधुनिक र सम्मानजनक व्यवसायका रूपमा स्थापित गर्न सकिने स्पष्ट सन्देश दिएको छ ।
एक समय कृषि पेशालाई कम महत्व दिने झमक गौतम आज आफ्नै मेहनत र व्यावसायिक सोचका कारण सफल केरा किसानका रूपमा परिचित हुनुहुन्छ । उहाँको अनुभवले वैदेशिक रोजगारीबाट फर्किएका युवा तथा स्वदेशमै सम्भावना खोजिरहेका कृषकहरूका लागि कृषि नै सम्मानजनक, दिगो र आत्मनिर्भर भविष्य निर्माण गर्ने आधार बन्न सक्छ भन्ने विश्वास अझ बलियो बनाएको छ ।








