काठमाडौं, १२ कात्तिक। आर्थिक अभावका कारण आईटी विषयमा उच्च शिक्षा हासिल गर्ने सपना अधुरै रहने अवस्थामा पुगेकी मकवानपुरको राक्सिराङ गाउँपालिका–८ की सीमाना चेपाङका लागि नेपाली कांग्रेसका नेता डा. सुनील कुमार शर्मा सहारा बनेका छन्। उनले सीमानालाई काठमाडौं ल्याएर आईटी तथा कृत्रिम बुद्धिमत्ता (एआई) विषयमा स्नातक तहको अध्ययन गराउनुका साथै रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।

‘ग्राउन्ड जिरो’ अभियानअन्तर्गत मकवानपुर पुगेका डा. शर्मासँग सीमानाका बुबा रामकृष्ण चेपाङको भेट भएको थियो। मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यसँग संघर्ष गरिरहेका रामकृष्णले कमजोर आर्थिक अवस्थाका कारण छोरीलाई उच्च शिक्षा पढाउन नसकिरहेको बाध्यता सुनाएपछि शर्माले उनको अध्ययनको जिम्मेवारी लिने घोषणा गरेका हुन्।

डा. शर्माका अनुसार सीमानालाई काठमाडौंस्थित टेक्सास कलेजमा अध्ययन गराउने तयारी छ। करिब १० लाख २० हजार रुपैयाँ लाग्ने अध्ययन खर्चमध्ये सात लाख रुपैयाँ कलेजले बेहोर्ने र बाँकी तीन लाख २० हजार रुपैयाँ आफूहरूले व्यवस्था गर्ने उनले बताएका छन्। पढाइसँगै काठमाडौं मेडिकल कलेजमा रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धतासमेत उनले जनाएका छन्।

छोरीको भविष्यप्रति चिन्तित रामकृष्णले सहयोग पाउँदा खुसी व्यक्त गर्दै भने, “म गरिब परिवारको मान्छे हुँ। छोरीलाई आईटी पढाउने अवस्था थिएन। उहाँले छोरी पढाउने जिम्मा लिइदिनुभयो।”

आर्थिक अभावका कारण आफ्नो सपना पूरा हुनेमा अन्योलमा रहेकी सीमाना पनि अवसर पाउँदा खुसी भएकी छन्। उनले भनिन्, “एकदमै खुसी र रमाइलो लागिरहेको छ, धेरै धेरै धन्यवाद।”

डा. शर्माले सीमानालाई स्नातक तहको अध्ययन पूरा गरी आईटी विशेषज्ञ बन्न र स्नातकोत्तर तहसम्म पढाइ अघि बढाउन हौसला दिएका छन्। भविष्यमा आफूजस्तै आर्थिक अभावमा रहेका बालबालिकालाई सहयोग गर्न सक्ने बन्नसमेत उनले प्रेरित गरेका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा छात्रवृत्तिमार्फत सहयोग गर्दै आएका डा. शर्माले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत विपन्न, दलित तथा सीमान्तकृत समुदायका एक हजारभन्दा बढी विद्यार्थीलाई अध्ययनको अवसर उपलब्ध गराएको जनाइएको छ। तीमध्ये कतिपय चिकित्सक तथा स्वास्थ्य प्राविधिक बनेका छन्।

आर्थिक अभावले रोकिएको सीमानाको सपना अब नयाँ आशासहित अघि बढ्ने भएको छ। पढाइसँगै रोजगारीको अवसर पाउने भएपछि उनको भविष्य निर्माणको यात्रामा नयाँ ढोका खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय