दिलीप पोखरेल / उर्लाबारी
उर्लाबारीमा प्रहरीमाथी कुटपिट गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १ जना नावालकसहित तेह्रथुम जिल्ला म्याङ्गलुङ नगरपालिका वडा नम्बर ४ पिप्ले घर भई हाल उर्लावारी वडा नम्बर ६ निवासी २६ वर्षिय विरेन्द्र बजगाँइ , वडा नम्बर ६ निवासी २७ वर्षिय ‘सेमन्त’ उर्फ सविन निरौला र ३१ वर्षिय मौसम राई रहेका छन् ।
उनीहरुलाई डियूटीमा रहेका प्रहरीमाथी कुटपिट तथा सार्वजनिक सम्पति तोडफोड गरेको अभियोगमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए । मौसमबाहेक अन्य अभियुक्तहरुलाई गत असार २३ गते पक्राउ गरिएको थियो भने मौसमलाई शनिबार साँझ ७ :३० बजे पक्राउ गरिएको प्रहरी निरिक्षक दासले बताए ।
यस्तै उनले सो अभियोगमा अन्य ११ जना भने फरार रहेको बताए । उनीहरुलाई आपराधिक उपद्रव मुद्धा दर्ता गराई मोरङ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको निरिक्षक दासले जानकारी दिए ।
यस्तो थियो घटना:
गत असार १७ गते सोमबार साँझ उर्लाबारी -मधुमल्ला सडकखण्डअन्तर्गत उर्लाबारी वडा नम्बर ६ सिसौलीमा तीव्र गतिमा रहेको टिपरको ठक्करबाट स्कुटरमा सवार गोपाल चोक निवासी टिका बोहोराको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परि सो स्कुटरमा सवार बोहोराको ६ वर्षिय छोरा प्रशान्त बोहोरा समेत घाईते बनेका थिए ।
घटनापछि साँझबाट उर्लाबारी चोकक्षेत्र तनावग्रस्त बनेको थियो।
यस्तै दुर्घटनास्थलमा सिभिल ड्रेसमा पुगेको प्रहरीले तत्काल बोहोरालाई उठाएर मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचारको लागि लैजाने क्रममा स्थानियसँग विवाद हुदा २ जना प्रहरी घाईते बनेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । स्थानियको भिडले ति प्रहरीमाथी कुटपिट समेत गरेको थियो ।
यता घटनापछि आक्रोशित भएर प्रदर्शनमा उत्रिएका स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ढुंगामुडा समेत गरेका थिए । सो क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गाले लागेर केहि प्रहरीहरु समेत घाईते बनेको प्रहरी निरिक्षक दासले बताए।
यस्तै स्थानीयले उर्लाबारी चोकमा टायर बालेर गरेको प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्गमा सवारी आवतजावत समेत बन्द भएको थियो ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पचासौंको संख्यामा प्रहरी तैनाथ गरेको थियो भने करिव २० राउण्ड अश्रु ग्यास समेत प्रहार गरिएको जनाएको छ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासकाअनुसार साझ करिव ७:४५ बजेदेखी मृतकको आफन्त र स्थानियले गरेको प्रदर्शनबाट अशान्त बनेको उर्लाबारीको माहोल राती करिव १० बजे शान्त भएको थियो ।
यस्तै प्रहरीले दुर्घटनालगत्तै टिपर र चालक मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षीय लालबहादुर लिम्बुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैबिच प्रहरीले गत असार २३ गते डियूटीमा रहेका प्रहरीमाथी कुटपिट तथा सार्वजनिक सम्पति तोडफोड गरेको अभियोगमा पक्राउ भएका एक नावालकसहित अन्य ३ जना युवाहरुलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको जनाएको छ । यस्तै हिजो पक्राउ परेका राईलाई भने आईतबार ५ दिनको म्याद थप गरि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सो घटनामा संलग्न अन्य ११ जनाको पहिचान भैसकेको जनाउदै उनीहरुको खोजी कार्य जारि रहेको जनाएको छ ।
पछिल्लो समय ईलाका प्रहरी कार्यालय उर्लाबारीले आपराधिक उपद्रव मुद्धामा संलग्नहरुको पहिचान गरी कानुन बमोजिम मुद्धा चलाई कारवाही गराउदै आएको छ।
उर्लाबारीमा चालु आर्थिक वर्ष २०८०/०८१ मा सो प्रकृतिका ३ वटा मुद्धा दर्ता भएको प्रहरी निरिक्षक दासले बताए । उनकाअनुसार सो प्रकृतिका मुद्धामा हालसम्म १० जनालाई प्रकाउ गरिएको जानकारी दिए ।
के हो आपराधिक उपद्रव मुद्धा?
दोषि ठहर भएमा आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानी, नोक्सानी भएकोमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ मा आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरको व्यवस्था छ ।
दफा ३ मा भनिएको छ,‘ (ङ) खण्ड (क), (ख), (ग) वा (घ) मा लेखिएदेखि बाहेक अरु कुनै काम गरी आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानि, नोक्सानी भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना ।’संहिताअनुसार हूल हुज्जत गरी वा नगरी अनधिकृत रुपमा अर्काको स्वामित्व वा कब्जामा रहेको कुनै सम्पत्तिमा त्यस्तो व्यक्तिको अनुमति नलिइ प्रवेश गरेमा वा अनुमति लिइ प्रवेश गरेकोमा त्यस्तो कुनै काम गर्ने नियतले सो सम्पत्तिमा बसिरहेमा, ओगटेमा वा सम्पत्ति उपभोग गरी रहेमा निजले आपराधिक प्रवेश गरेको मानिनेछ ।
कसैले कसैको सम्पत्तिमा आपराधिक प्रवेश गर्न वा गराउन नहुने प्रावधान छ। जुन व्यक्तिको स्वामित्व वा कव्जामा सम्पत्ति रहेको छ त्यस्तो व्यक्तिलाई डरत्रास देखाउने, अपमान गर्ने वा झिझ्याउन गर्न हुँदैन ।
कुनै सरकारी कार्यालय वा मानिस बसोबास गरेको घरमा प्रवेश गरेको भए ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ।