उर्लाबारी-३ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिहिबार उर्लाबारी-३ सालबारीस्थित गोल चोकमा आयोजित सो कार्यक्रमको उद्घाटन कृषि सहकारी संघका केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठकले पानसमा दियो बालेर गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पाठकले मन्तव्य राख्ने क्रममा अहिलेको आर्थिक मन्दीको समयमा सचेत भएर कारोबार गर्नुपर्ने बताए । उनले शेयर सदस्यको अधिकतम हितमा सहकारीले कार्य गर्नुपर्ने धारणा व्यक्त गरे । यस्तै उनले महिलाहरुको नेतृत्वले संचालन गरेको समुहले छोटो अवधिमै संस्थाको छुट्टै शाखा बिस्तारको लागि न्युनतम मापदण्ड पुरा गरेको बताउदै संस्थाको हरेक गतिविधि पारदर्शी भएको बताए ।

सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथी कोशी प्रदेश सभा सदस्य शोभा चेमजोङ् पालुङ्वा, उर्लाबारी नगरपालिकाकी नगर उपप्रमुख मिना खतिवडा पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा संस्थाकी अध्यक्ष सिता रायमाझिद्वारा संचालक समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । यस्तै शाखा प्रबन्धक सरोज भट्टराईद्वारा संस्थाको प्रगती प्रतिवेदन र २०८०/०८१ को आयव्यय सार्वजनिक र लेखा तथा सुपरिवेक्षण समिती संयोजक जुनिता सुवेदिद्वारा लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

तीन वटै प्रतिवेदनमाथि उठेका जिज्ञासाको अध्यक्ष थापाले प्रष्टीकरण गरेपछि पारित गरिएको थियो ।

सो अवसरमा संस्थाले उत्कृष्ट ऋणी, उत्कृष्ट शेयर सदस्य ३/३ जना, उत्कृष्ट वचत समुह ५ वटा र १ जना उत्कृष्ट वचतकर्तालाई कुटो, कोदालो, हँसिया, हजारीलगायतका कृषि औजारसहित सम्मान पत्रले सम्मानित गरेको थियो ।

सभामा प्रस्तुत प्रतिवेदनमा शेयर रकम १८ लाख ४६ हजार ५ सय रुपैयाँ रहेको सो सहकारीको कुल बचत ४३ लाख ८१ हजार ६ सय ५५ रुपैयाँ रहेको जनाईएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा ९ लाख ९४ हजार ८ सय २० रुपैयाँ आम्दानी गरेको सो सहकारीको खुद बचत नाफा हिसाब १ लाख ७ सय ३८ रुपैयाँ रहेको प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।

यस्तै सहकारीले चालु आर्थीक वर्ष २०८१/०८२ मा शेयर पुजी ४० लाख पुर्याउने लक्ष्य राखेको बताईएको छ ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी पाठकको हस्तवाहुलीबाट सिजुवा साना किसानको अनुसरण कार्यक्रम उर्लाबारी साना किसानलाई संस्था हस्तान्तरण गरिएको थियो।

वि.सं. २०७७ सालदेखी सिजुवा साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापनमा उर्लाबारी वडा नम्बर २ र ३ लाई कार्यक्षेत्र बनाई उर्लाबारीमा साना किसान कृषि सहकारी संस्था अनुसरण हुदै आएको छ ।

नेपाल कृषि सहकारी केन्द्रिय संघको पहलमा नेपाल सरकारबाट अनुदान प्राप्त भई सिजुवाले अनुसरणको रुपमा उर्लाबारीमा साना किसान कार्यक्रम संचालन हुदै आएको छ । उर्लाबारीमा साना किसान आ.व.२०७९/०८० मा दर्ता भई अनुसरण कार्यक्रम संचालन हुदै आएको छ । ९ वटा अन्तरसमुह रहेको सो सहकारीमा हालसम्म ५ सय ६ जना शेयर सदस्यहरु रहेको बताईएको छ ।

ग्रामिण भेगका कृषि क्षेत्रमा न्युनतम व्याजदर उपलब्ध गराउदै जिवनस्तर उकास्ने लक्ष्य राखिएको सो सहकारीमा ९९.६ % महिलाहरुको सहभागीता रहेको संस्थाकी उपाध्यक्ष कल्पना नाल्बोले जानकारी दिईन् ।

संस्थाकी अध्यक्ष रायमाझिको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

सिजुवा साना किसान सहकारीका प्रवन्धक निर्देशक ऋषि ढकालले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष नाल्बोले राखेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय