
रतुवामाई । भारतको सोनापुरबाट तस्करीको गहुँ लिएर आएको ट्रक मोरङको रतुवामाई नगरपालिका-१ हडियाडाँडाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेका अनुसार दुई सय १० बोरा गहुँ लोड गरिएको को १ ख ४२२१ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । भन्सार छली गरेर ल्याइएको १० हजार पाँच सय किलोग्राम गहुँ चार लाख ७२ हजार पाँच सय रूपैयाँ बराबरको छ ।
ट्रक १५ लाख मूल्य बराबरको रहेको सशस्त्रले जनाएको छ । ट्रक र गहुँ गरेर १९ लाख ७२ हजार पाँच सय रूपैयाँ बराबरको भन्सार मूल्याङ्कन गरिएको जानकारी एसपी लामिछानेले दिए । सशस्त्र प्रहरीको बीओपी बरडङ्गाबाट खटिएको टोलीले ट्रक चालक सुनवर्षी नगरपालिका-४ का ४८ वर्षीय इन्द्रवेव राजवंशीलाई पनि पक्राउ गरेको छ । ट्रक र गहुँसहित चालकलाई आवश्यक कारबाहीका लागि बिहीबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।



