पथरी । पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिता असोज २२ गतेदेखि सञ्चालन हुनेभएको छ । आयोजक पथरीशनिश्चरे प्रिमियर लिग समितिले शनिबार पथरीको मनोहर होटल एण्ड पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी असोज २२ गतेदेखि कात्तिक ६ गतेसम्म खेल सञ्चालन हुने जानकारी दिएको हो ।
पथरीशनिश्चरे- १ जाँते मोडमा अवस्थित पथरी रंगशालामा हुने प्रिमियर लिगमा ८ वटा टिमबीच घमासान प्रतिस्पर्धा हुनेछ। जसमा सात बाघ, मंगलबारे लिजेन्ड, हिसाव किताब ट्राईडेन्ट, रोयल किङ्गस, विरेन्द्रनगर स्टिल टाईगर्स, बुद्ध युनाइटेड, क्लासिक ११ हसन्दह, आइतबारे अस्त्र रहेका छन् ।
खेलमा प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी मेडल प्रमाण-पत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष अरुण राईले जानकारी गराए ।
यस प्रतियोगिता सञ्चालन गर्न अनुमानित १० लाख खर्च लाग्ने आयोजकले बताएको छ । प्रतियोगिता सम्पन्न गर्न मुख्य रुपमा पथरीशनिश्चरे नगरपालिका र सहयोगी संघ संस्था रहेको कोषाध्यक्ष पुकार राईले बताए ।
पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष अरुण राई, सचिव राकेश राई, कोषाध्यक्ष पुकार राई र सदस्यहरु विरोज मगर, धनबहादुर कार्की र राकेश दाहालको उपस्थिति रहेको थियो ।
प्रिमियर लिगको लागि अक्सन यही भदौ २५ गते सिनभिलेज पार्टी प्यालेसमा हुने बताइएको छ । प्रियिमर लिगको पहिलो सिजनको उपाधि रोयल किङ्स र दोस्रो सिजन उपाधि सात बाघले आफ्नो पोल्टामा पारेको थियो । पछिल्लो समय पथरीमा क्रिकेट मैदान नभए पनि क्रिकेट प्रति स्थानियहरुको मोह बढ्दै गएको छ ।