मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका–३ टाँडीस्थित धोबेनीमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थाको ३४ लाख रूपैयाँ चोरी भएको सहकारिले जनाएको छ ।
शुक्रबार राति सहकारिको मूल ढोकाको ताला फुटाएर रकम चोरी गरेको पाइएको प्रहरीले जनाएको छ । सहकारिमा भएको चोरिको घटना शंकास्पद देखिएपछि प्रहरीले १ जना कर्मचारीलाई शनिवार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले सहकारीको आर्थिक कारोबार हेर्ने कर्मचारी मेनुका नेपाली (शिवा)लाई नियन्त्रणमा लिएको हो । घटनामा उनको संलग्नता यकिन भइनसकेको प्रहरीले जनाएको छ । प्रहरीले सहकारीकी अध्यक्ष मीना कार्की, प्रबन्धक प्रकाश खनालसहित अन्य पदाधिकारी र कर्मचारीमाथि पनि सोधपुछ गर्ने काम भइरहेको जानकारी दिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट घटना हुनुअघि सहकारीकी कर्मचारी नेपालीले बुझाउनुपर्ने हिसाबकिताब प्रबन्धक खनाललाई नबुझाएको खुलेको छ ।
सहकारीको ताला फुटाएर कार्यालयभित्र पैसा राखिएको ‘भल्ट’ तोडेर चोरी गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार तोडफोड गर्दै पैसा निकालेको अवस्थामा कार्यालयबाट करिब ५० मिटर पश्चिममा ‘भल्ट फेला परेको थियो ।
सहकारीमा चोरी भएको कुरा सुरुमा प्रबन्धक खनालले प्रहरीलाई जानकारी गराएका हुन् । खनालले सहकारीको ३४ लाख चोरी भएको जानकारी गराएको प्रहरीले जनाएको छ । तर, चोरी भएको रकम यकिन हुन बाँकी रहेको डीएसपी श्रेष्ठ बताउँछन् ।
पैसा कसरी
राखिएको थियो, सहकारी कसको जिम्मामा थियो र घटना कसरी भयोभन्ने बारेमा विस्तृतमा अनुसन्धान भइरहेको उनले बताए ।
उक्त सहकारी स्थानीय महिलाहरु मिलेर २०६८ सालदेखि सञ्चालनमा ल्याएका हुन् ।