उर्लाबारी, ११ माघ । परिवारको सुखसयलको सपना बोकेर सन २००६ मा खाडी देशको उखरमाउलो गर्मीमा रोजगारीका लागि होमिएका मोरङ उर्लाबारीका राजकुमार निरौलाले त्यँहा रहदा एक कम्पनीमा बेकरी बनाउने काममा रोजगारी गर्नुभयो ।
परिवारको माया र आफन्तको साथ छोडेर करिव १० वर्ष दुबईमा रोजगारी गरेपछि उहाँ सन २०१६ मा नेपाल फर्कीनु भयो र विदेशमा सिकेको सिप र त्यहाँ गरेको मेहनतलाई उहाँले स्वदेशमै लगानी गरेर बैदेशिक रोजगारी सदासदाका लागि त्यग्ने सोच बनाउनु भयो ।
सोही सोच र बैदेशिक रोजगारीमा संगालेको अनुभवलाई समेटेर उहाँले ५० लाख लगानीमा उर्लाबारी-५ स्थित सिर्जना चौकमा ‘नोभा बेकरी उद्योग’ स्थापना गरेर स्वदेशमै व्यावसायिक बन्ने मनासय तय गर्नु भयो ।
बैदेशिक रोजगारीका सिलसिलामा कमाएको सवै रकम उद्योगमा लगानी गर्दा सुरुसुरुमा उहाँलाई लगानी डुब्ने हो की भन्ने पिरले निकै मन पोल्ने गरेको सुनाउनु भयो । तर उहा निरन्तर रुपमा उद्योग संचालनमा लागि रहनु भयो र आज उर्लाबारीमै सफल बेकरी उद्योगीका रुपमा स्थापीत हुनु भएको छ ।
उद्योगबाट उत्पादित बेकरीका ‘आइटम’ हरुले छोटो समयमै उपभोक्ताको मन जित्न सफल बनेको छ । आत्मविश्वास भए स्वदेशमै उन्नति गर्न सकिँदो रहेछ भन्ने दरिलो हिम्मत आफुमा पलाएको उहाँ बताउनु हुन्छ । निरौलले संचालन गरेको उद्योगबाट वर्थ-डे केक, केक, ब्रेड, बिस्कुट, क्रिमडोल, पप, डुनट, विभिन्न प्रकारका पाउरोटी यति बेला धमाधम उत्पादन भई रहेका छन् ।
हाल बजारमा डुनट, ब्रेड र केकको बढी माग रहेको बताउदै निरौला भन्नु हुन्छ-‘मेरो उद्योगमा दैनिक १० जनाले निरञ्तर काम गरिरहनु भएको छ तर बजारको माग धान्न मुस्किल छ ।’
नोभा बेकरीका उत्पादनहरु पुर्वी मोरङका मुख्य शहरहरु उर्लाबारी, पथरी, बेलबारी, विराटचौक, विराटनगर छिमेकी जिल्ला झापाको दमक बजार र गाउँ बस्तीसम्म छाएका छन् । बजारबाट बेकरीको राम्रो डिमाण्ड आएपछि निरौला बेकरीको आधिकारीक विक्री काउन्टर खोल्ने सोचमा पुग्नु भएको छ ।
निरौला भन्नु हुन्छ-‘हाल सम्म उद्योगबाट नै उत्पादीत बस्तुलाई बजार सम्म लाने गरिएको थियो अव उर्लाबारी चौकको पश्चिमतर्फ रोड हाउस क्याफेसंगै रहेको कोइराला मार्केटमा बिक्री काउन्टर खोलेर व्यावसायलाई विस्तार गर्ने सोचमा छु ।’
उद्योग संचालनमा आएको सात वर्ष वित्दा नवित्दै नोभाका उत्पादनको लोभलाग्दो व्यापार फस्टाउदै गएको छ । निरौलासंगै परिवारका सदस्यहरु र कामदारहरु नोभा बेकरीमा आउने मागलाई पूर्ति गर्न सधैं हतारोमा हुने गरेको उनीहरुको दैनिकीलाई नजिकबाट नियाल्नेहरु बताउछन् ।
गुणस्तरीय उत्पादन र छरितो सेवाका कारण ग्राहकको रोजाई बनिरहेको नोभाका नियमित ग्राहक ज्योति भट्टराई बताउनु हुन्छ ।
चाडपर्वमा बढी उत्पादन र बिक्री हुने जनाउदै निरौला भन्नु हुन्छ-‘ होटल, किराना र अन्य खुद्रा बेकरीलाई उत्पादित सामान दिने गरेका छौं ।’
आफुले नोभाकै विस्कुट र पाउरोटीहरु विक्री गर्दै आएको उर्लाबारीको पश्चिम बस स्टेण्टमा रहेको श्रेष्ठ होटलका संचालक राम श्रेष्ठको भनाई छ।
विभिन्न उत्सव र चाडपर्वका लागि बेकरी आइटमका केक गुणस्तरीय उत्पादनमा जोड दिइरहनु भएका निरौलाले होटल, पार्टी प्यालेस र व्यक्तिगत मागमा पनि सेवा दिने गर्नु भएको छ ।
स्वदेशमा नै केही उद्यम गरे रोजीरोटी र रोजगारीसमेत सिर्जना गर्न सकिने सम्भावनालाई मूर्तरुप दिन सपरिवार लागि परेको बताउदै निरौला भन्नु हुन्छ-‘बजारमा हाम्रो उपस्थिति नयाँ नै हो, हामी सिकिरहेका छौ, फड्कै मारेको त नभनौं, तर सवै खर्च कटाएर मासिक १ लाख ५० हजारको हाराहारीम बचत हुने गरेको छ, हाम्रो तयारी अझ निखार्न ज्ञान, प्रविधि र सीप नै हासिल गर्नमा हामी बढी केन्द्रीत छौ, हाम्रो उद्देश्य ग्राहकको स्वास्थ्यलाई सर्वोपरी राख्दै गुणस्तरमा कुनै समझौता नगरी शुद्ध, सफा, गुणस्तर र हाइजेनिक उत्पादन दिनु नोभाका विशेषता हो ।’

रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय