
काठमान्डौ । नेपालले घरेलु मैदानमा भएको आईसीसी लिग -२ अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा ऐतिहासिक ‘क्लीन स्विप’ गरेको छ । आज सिरिजमा आफ्नो चौंथो तथा अन्तिम खेलमा स्कटल्याण्डमाथि २ विकेटको जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्याण्डले जितका लागि दिएको २१३ रनको मध्यम लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो । खराव सुरुवात गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९५ रनको अर्धशतकीय इनिङ्स खेले । साथै करण केसीले ३१ रन जोडे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड ४६.१ ओभरमा २१२ रन बनाउँदै अलआउट भएको थियो । स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्शेले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ्स खेले । साथै म्याथ्यु क्रसले ४२ रन, ब्रेन्डन म्याकमुलनले ३१ रन, काइल कोट्जर र क्रिष्टाफर एमसीब्राइडले समान २२/२२ रन जोडे ।
स्कटल्याण्डलाई रोक्न बलिङतर्फ नेपालका स्पिनर सन्दीप लामिछाने एक्लैले ४ विकेट लिए । साथै करण केसीले ३ विकेट तथा कुशल मल्ल र ललित राजवंशीले एकएक विकेट लिए ।
योसँगै नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जितेको छ । साथै नेपाल विश्वकप लिग टू को सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि बनेको छ ।
नेपालले सिरिजको अघिल्ला तीनै खेल नेपालले जितेको थियो । शुक्रबारको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । ३६ खेलमध्ये बाँकी रहेको खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ । शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउन भने नेपालले सबै खेल जित्नुपर्ने हुन्छ ।
स्कटल्याण्ड भने ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहेर लिग च्याम्पियन बनिसकेको छ ।



