
उर्लाबारी, बैशाख ११ । मोरङको मिक्लाजुङ गाँउपालिका-३ धोवेनीमा रहेको कालिका सामुदायिक माध्यमिक विद्यालयमा स्कुल हाता भित्र भएको कुटपिटमा समलग्नहरु माथी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।
बैशाख ६ गते बुधबार कक्षा आठमा अध्ययनरत श्रेया श्रेष्ठलाई सोही विद्यालयमा अध्ययन गर्ने केही छात्राहरुको समुह र बाहिरका केही साथी बोलाएर कक्षा कोठाभित्र एक्लै पारी सामुहिक रुपमा श्रेयामाथि झापड र लात्ति बजारेको भिडियो सामाजिक संजाल फेसबुकमा सार्वजानिक भएको थियो।
बैशाख ६ गते दिउँसो करिव १२ः३० बजेको समयमा उनिहरुले श्रेष्ठलाई सामुहिक रुपमा भिडियो बनाई खुट्टा ढोगाउदै माफी मगाउदै लछारपछार पार्दै घोक्रयाई मुन्ट्याई गरी सामुहिक रुपमा कुटपिट गरेको पाईएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक जानकारी अनुसार श्रेया श्रेष्ठ र उनका साथीहरुका विचमा ब्वाई फ्रेन्डका विषयमा लिएर सामाजिक संजालको म्यासेजमा विवाद उत्पन्न् भएको भन्ने बुझिएको छ । सोही विवाद बढ्दै जादा उनिहरुले श्रेयालाई सामुहिक रुपमा कुटपिट गरेको हुन सक्ने प्रहरीेले जनाएको छ । यद्यपी घटना के कारण घटेको थियो भन्ने ठोस प्रमाण भने जुटी सेकको छैन् ।
घटनाको विषयलाई लिएर विद्यालय प्रशासनले बैशाख १० गते पिडकतर्फका अभिभावक र पिडीत श्रेष्ठका अभिभावकलाई विद्यालयमा बोलाएर कार्वाही प्रक्रिया अगाडी बढाउने छलफल चलाउने प्रयास गरेको थियो ।
विद्यालयले छलफलको प्रयास गरेपनि विद्यालयमा उपस्थित अभिभावकहरुले विद्यालयको लापरवाहीको कारण मरणासन्न हुनेगरी निर्घात रुपमा कुटपिट भएको भन्दै विरोध जनाएपछि छलफल रोकियो ।
छलफलमा पिडीत पक्षका अभिभावक र अन्य स्थानियले कानुनी कार्बाहीको माग गरेपछि ईलाका प्रहरी कार्यालय उर्लाबारीले घटनामा समलग्न १३ जनालाई नियन्त्रणमा लिएर कानुनी कार्वाहीका लागि प्रक्रिया अगाडी बढाएको प्रहरी निरिक्षक बबिन्द्र नेम्वाङले बताए ।
पिडीतकी आमा सुमित्रा श्रेष्ठले ईलाका प्रहरी कार्यालय उर्लाबारीमा बैशाख ११ गते उनिहरु विरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको बताईन् ।
श्रेष्ठले भनिन-“म कामको शिलशिलामा काठमान्डौमा बस्दै आएकी छु, उनका बुबा रोजगारीका शिलशिलामा विदेशमा रहनु भएको छ, हामीले छोरीलाई आफन्तको रेखदेखमा घरमै राखेका थियौ तर ६ बैशाखमा विद्यालयमै मेरी छोरीलाई सोही विद्यालयमा अध्ययन गर्ने कक्षा ८ देखी १० सम्मका केही विद्यार्थी र वाहिरबाट बोलाइएकी एक अपरिचित व्यक्ति सहितको समुहले छोरीलाई कक्षा कोठाभित्र नियन्त्रणमा लिई चारैतिरबाट घेरा हालेर उम्कन नदिई घोक्रयाई मुन्टयाई लछारपछार पार्दै टाउकोमा चोट लाग्ने गरी कुटपिट गर्दै यो कुरा कसैलाई सुनाए ज्यान मार्ने धम्की दिएका कारण छोरीको सुरक्षाका लागि कानुनी उपचार खोज्दै प्रहरी समक्ष आएकी हुँ ।”
घटनमा समलग्न सवै नावालिका मिक्लाजुङ गाउपालिका वडा नम्वर २,३ र ४ का रहेका छन् ।



