
उर्लाबारी, २१ बैशाख । यसै वर्ष देखी सिटी स्क्यान सेवा सञ्चालनको तयारीमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा सिटी स्क्यान सेवा संचालन हुने नहुने भन्नेमा अन्योलता छाएको छ।
मोरङको उर्लाबारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा सिटी स्क्यान सेवा संचालन गर्न कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४ करोड रकम विनियोजन गरेको थियो ।
आर्थिक वर्षको उत्तरार्धमा आईपुग्दा सरकारले आफ्नो मातहातको स्वास्थ्य आपुर्ति व्यावस्थापन केन्द्रलाई सिटी स्क्यान मेसिन खरिदको प्रक्रिया अगाडी बढाउने बाटो प्रसस्त नगरेपछि अस्पतालमा मेसिन आउने सम्भावना लगभग अन्त्य भएको हो ।
प्रदेश सरकारले सिटी स्क्यान मेसिन खरिदका लागि विनियोजन गरेको रकम अपुग हुने र थप रकम जुटाउन स्रोत सुनिश्चितता नभएको कारण देखाउदै मेसिन खरिद गर्न नसकिने जानकारी दिएको अस्पताल प्रशासनले जनाएको छ ।
मेसिन खरिदका लागी विनियोजन गरेको रकम अपुग भएपछि सो रकम केही समय अगाडी सरकारले विभिन्न अस्पताललाई वितरण गरेका ८ वटा एम्वुलेन्स खरिदको बजेट फच्र्योट गर्न रकामान्तर गर्ने र बाकी रहने रकमलाई अन्य कुनै शिर्षकमा रकामान्तर गरी हिसाव मिलान गर्न मान्त्रालय लागि परेको स्रोतले बताएको छ ।
प्रदेश स्वास्थ्य आपुर्ति मन्त्रालयका निर्देशक विरेन्द्र मण्डल सग हामीले मेसिन खरिद प्रक्रिया अगाडी बढ्छ कि बढ्दैन भनेर बुझ्ने कोशीस गर्दा मण्डल भन्छन्- ‘सिटी स्क्यान मेसिन खरिदका लागि सरकारले ४ करोड रुपैया विनियोजन गरेको थियो, तर मेसीनको मुल्य ७ करोड भन्दा माथी पर्न जान्छ, मेसिन खरिदका लागि रकम बृद्धि गर्नु पर्ने हुन्छ, मन्त्रालयबाट थप रकम बृद्धिका लागि स्रोत सुनिश्चित छैन् भन्ने जवाफ आएको छ, त्यसैले के गर्ने भन्ने अन्योल छ, समय पनि कम छ, हेरौ अव के हुन्छ।’
सिटी स्क्यान सेवा विस्तार र भवन निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि भवन निर्माणमा ५० लाख र मेसिन खरिदमा ४ करोड गरी छुट्टाछुट्टै शिर्षकमा बजेट विनियोज गरेको थियो ।
विनियोजित रकम मध्ये भवन निर्माणका लागि छुट्टयाएको ५० लाख रुपैया मध्येबाट ३६ लाख (भ्याटसहित) रुपैयामा ठेक्का आव्हान भई भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भवन तयारी भएपनि सो भवनमा मेसिन कहिले भित्रिने हो टुङगो नहुदा भवन समेत प्रयोग विहीन हुने हो की भन्ने चिन्ता अस्पताल प्रशासनलाई छ ।
हामीले यस विषयमा थप जानकारी लिन कोशी प्रदेश स्वास्थ्य मन्त्रि निर्मला तावा लिम्वुलाई सम्पर्क गर्दा लिम्वुले फोनमा भन्न नमिल्ने जानकारी चाहिने भए कार्यालयमै आउनु भन्दै फोन राखिदिइन्।
सर्वसाधरणको सहज पहुच पुग्ने यस अस्पताललाई प्रदेश सरकारले स्तरउन्ती गर्ने र ट्रमा सेन्टरका रुपमा सेवा विस्तार गर्ने योजनाका साथमा ४ वर्ष अघि नगरपालिका मातहत संचालित मंगलबारे अस्पताललाई नाम परिवर्तन गरी मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर नाम दिई आफ्नो मातहत ल्याएको थियो ।
४ वर्षको अन्तरालमा अस्पतालमा स्तर उन्नतीका नाममा अस्पतालमा एउटा अक्सिजन प्लान्ट, केही करार सेवामा कार्यरत डाक्टर र स्वास्थ्य कर्मीको संख्यामा बृद्धि र नया ओपिडी भवन निर्माण बाहेक अन्य सवै मापदण्ड प्राथमिक स्वास्थ्य केन्द्रकै तहमा रहेको छ ।
स्थास्थ्य क्षेत्रका जानकार डाक्टरहरु भन्छन्-‘हातखुट्टा भाँचिएको, सामान्य चोटपटक र सामान्य प्रकारको अप्रेसन त अन्य अस्पतालमा पनि हुन्छ तर ट्रमा सेन्टरको पहिलो आधार र प्रारम्भिक सेवा नै सिटीस्क्यान सेवा हो, नाममा ट्रमा सेन्टर भनिएपनि सेवाका रुपमा ट्रमा सेन्टरको व्यासिक पुर्वाधार समेत पुरा भएको छैन्, पुर्वाधार नै पुरा नभई कसरी यस्लाई ट्रमा सेन्टर भन्ने ?’
पुर्वी नेपालको झापाको माईपश्चिम, ईलामको पश्चिमी भाग, धनकुटा र पाचथरका सर्वसाधरणले सहज र सस्तो रुपमा सेवा पाउने यो अस्पताल यस क्षेत्रकै जेठो अस्पतालका रुपमा स्थापित अस्पताल हो ।
तर अस्पतालको स्तरउन्न्ती धिमी गतिमा भएका कारण हजारौ सर्वसाधरणले अझै पनि महगो दस्तुर तिरेर धरान, विराटनगर र विर्तामोड झापाका अस्पतालहरुमा सेवा लिनु परीरेहको छ ।



