विराटनगर, १६ जेठ । कोशी नाम खारेजीका माग राख्दै आन्दोलन गर्दै आएको पक्षले आम हड्तालको कार्यक्रम फिर्ता लिएको छ ।
आइतबार आन्दोलनको क्रममा विराटनगरमा पक्राउ परेका बाँकी पहिचानवादीलाई रिहा गरिने भएपछि पुनः नामाकरण संघर्ष समितिले घोषणा गरेको आम हड्तालको कार्यक्रम फिर्ता लिइएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङमा आज (मंगलबार) भएको छलफलमा बाँकी रहेका २६ जनालाई रिहा गर्ने सहमति भएको हो । यसअघि आन्दोलनको क्रममा पक्राउ परेका ८६ जनामध्ये ६० जना रिहा भएका थिए ।
फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेश अशान्ति बनेको छ । आइतबार प्रदेशसभा भित्र बैठक बस्दै गर्दा बाहिर भने पहिचान पक्षधर र प्रहरीबीच झडप समेत भएको थियो झडप हुँदा दुवै पक्षका ३० जना बढी घाइते समेत भएका थिए ।
यस अघि कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकालाई छोड्नु पर्ने माग गर्दै यदि नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल आह्वान गर्ने चेतावनी दिएको थियो ।
ADVERTISEMENT