
पथरी, २९ भदौ । मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले नगरपालिकाको गाडी दुरुपयोग गर्ने गरेको पाईएको छ ।
करिव एक महिना अगाडी सरुवा लिएर पथरीशनिश्चरे नरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको कार्यभार सम्हाल्न आएका अधिकृत शशि राईले नगरपालिकाले दिएको को १ झ ५१४ नम्वरको गाडीको दुरुपयोग गर्ने गरेको पाईएको हो ।
अधिकृत राईले नगरपालिकाले दिएको गाडीको प्रयोग गरी कार्यालय समय भन्दा बाहिर प्रत्येक दिन बिहानको समयमा व्याटमिन्टन खेल्न पालिका देखी ५ किलोमिटर टाढा रहेको छिमेकी पालिका उर्लाबारी पुग्ने गरेको पाईएको छ ।
नगरपालिका स्रोतका अनुसार अधिकृत राईले कार्यालयमा हाजिर भएको दोस्रो हप्ता देखीनै कार्यालयको गाडी जथाभावि प्रयोग गर्दै आउने गरेको बतायो ।
कार्यालयको गाडी दुरुपयोग भएको विषयमा हामिले अधिकृत राईलाई सम्पर्क गर्दा राईले भने–“पहिला पहिलाका अधिकृतहरुले नगरपालिकाको गाडी लिएर विराटनगर बास बस्न जाने र भोलिपल्ट कार्यालय आउने गरेका थिए मैले त्यसो गरीन, उहाहरुले गरेको देख्नु भएन मैले मात्र गरेको देख्नु भयो।”
यता नगरपालिकाका मेयर मोहन प्रसाद तुम्बाफोले अधिकृतले प्रयोग गर्ने गाडी जनताको सेवामा जुनसकै बेला प्रयोग गर्न पाउने भएतापनि निजी प्रयोगका लागि उपयोग गर्न नपाउने बताउदै गाडी प्रयोगका बारेमा अधिकृत सग सोधपुछ गरिने बताए ।



