
उर्लाबारी, ३० कातिक । मोरङको उर्लाबारीमा लक्ष्मी पुजाको राती भएको आगलागीमा परी घाइते भएका २८ जना मध्ये २५ जनाको यतिबेला काठमान्डौ स्थित कीर्तिपुरमा रहेको ‘बर्न अस्पताल’ मा उपचार भइरहेको छ ।
आगलागीमा परी घाईते बनेका मध्ये उर्लाबारी-५ बस्ने वर्ष ५५ का रवि तामाङको दमक स्थित लाईफ लाईन अस्पतालमा उपचार पश्चात भोलि पल्ट अस्पतालले डिस्चार्ज दिएको थियो ।
अन्य २७ जना झापा र मोरङका विभिन्न अस्पतालमा उपचाररत थिए । उपचाररत घाईतेहरुलाई कोशी प्रदेश सरकारको पहलमा थप उपचारका लागि नेपाली सेनाको जहाज मार्फत काठमान्डौ कीर्तिपुर स्थित ‘बर्न अस्पताल’ लगिएको छ ।
बर्न अस्पतालमा उपचाररत २५ मध्ये ७ को स्वास्थ्य अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।
गभ्मिर अवस्थामा रहेका मध्ये वर्ष ६८ का घरमुली रुकुम बहादुर कार्की उनको शरिरमा ४० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ । यस्तै वर्ष ३१ का शिव कुमार विकको ३३ प्रतिशत, वर्ष ३४ प्रकाश लिम्वुको ४५-५० प्रतिशत, वर्ष २६ का विक्रम शाहको ५५-५८ प्रतिशत, वर्ष ४९ का हेमकुमार दहालको ५६ प्रतिशत, वर्ष ४३ का तपन पण्डितको ६५ प्रतिशत र वर्ष ४२ का कुमार तामाङको शरिरमा ६५ प्रतिशत जलन रहेको अस्पतालले जनाएको छ ।
यस्तै सोही घटनामा परी घाइते बनेका मध्ये ईलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत ४ जना प्रहरीको भने जनरल वार्डमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
घाईते मध्ये प्रहरी सहायक निरिक्षक चुडामणी प्रधान र प्रहरी सहायक निरीक्षक मन कुमार घिसिङको शरिरमा १०/१० प्रतिशत र प्रहरी जवान दिलकुमार आर्चायको १५ प्रतिशत र प्रहरी जवान ऋषि किरण राईको शरिरमा २४ प्रतिशत जलन रहेको अस्पतालको रिर्पोटिङ रहेको दासले बताए ।
उपचाररत २५ मध्ये सातजनाको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालका जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले बताए । उनका अनुसार घाइते सातजनाको शरीरमा ४० देखि ६५ प्रतिशतसम्म जलन भएको छ । अन्यको अवस्था भने सामान्य रहेको डा. नकर्मीले बताए । शरीरको २० प्रतिशत बढी भाग जल्नुलाई ‘मेजर बर्न’ भनिन्छ ।
यस्तो जलनले शरीरका अन्य अंगहरूलाई असर गर्ने र रोग प्रतिरोधी क्षमता कम हुँदै जान्छ । ४० प्रतिशत भाग जलेमा शरीरका अन्य अंगबाट छाला लिएर प्रत्यारोपण कठिन हुने विशेषज्ञहरू बताउँछन् ।
आगलागीमा परी घाईते बनेकाहरुको उपचाररत अस्पतालमा सहयोगिका रुपमा गएका नेपाली कांग्रेस नगर सचिव राजन राजनमाझीका अनुसार आज (कातिक ३०) देखी अन्य १८ जना भने सामान्य हिडडुल गर्न र आपसमा बोल्न सक्ने अवस्थामा रहेको बताए ।



