
उर्लाबारी, १७ मंसिर । मोरङको उर्लाबारी नगरपालिकाले कृषकहरुलाई अनुदानमा मकैको बीउ वितरण गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत उर्लाबारी- ८ र ९ को मकै पकेट क्षेत्रका रुपमा रहेको आम्बाडी कृषक समूहका कृषकहरुलाई मकैको बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल र वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तानले मकैबाली पकेट कार्यक्रम अन्तर्गतका कृषकलाई मकैको बीउ वितरण गरेका छन् ।
टिएफ ३६९ र पाइनियर ३३९६ जातको मकैको बीउ ७५२ केजी ७३ जना कृषकलाई वितरण गरिएको कृषि शाखा प्रमुख अम्बिका लुइटेलले जानकारी दिए ।
५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको र केही दिनमा स्प्रे, सिचाइको पाइप, मकै रोप्ने मेसिन, त्रिपाललगायत वितरण गरिने जनाइएको छ ।
सो अवसरमा उपप्रमुख पौडेल र वडाध्यक्ष मोक्तानले उर्लाबारीको कृषि क्षेत्रको विकासमा नगरपालिकाले ध्यान दिएको बताए ।



