उर्लाबारी, १९ मंसिर । उर्लाबारीमा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस मनाइएको छ । आज उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पाँच जना उत्कृष्ट स्वयम्सेविकालाई सम्मान गरिएको छ भने पाँच जनालाई विदाई गरिएको छ ।
नगर उपप्रमुख मीना खतिवडा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ की यामकुमारी विश्वकर्मा, वडा नं. २ की मेनुका थापा, वडा नं. ५ की गायत्रा भट्टराई, वडा नं. ८ की कुलमाया धिमाल र वडा नं. ९ की सकुन श्रेष्ठलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरियो । उहाँहरुलाई नगर उपप्रमुख पौडेल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले सम्मान पत्र र मायाको चिनो प्रदान गर्नुभयो ।
यस्तै, लामो समयदेखि स्वयम्सेविकाको रुपमा कार्य गरी उमेर तथा अन्य विविध कारणले सेवा निवृत्त भएका पाँच जनालाई विदाई गरिएको छ । विदाई हुने उर्लाबारी–९ की अम्बिका ढुंगानालाई ६५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरियो । अन्य विदाई हुने वडा नं २ की ओमकुमारी पाण्डे, वडा नं. ४ की नवीनकुमारी दाहाल, वडा नं. ६ की पुन्ना नेपाल र वडा नं. ८ की विनाकुमारी चौहानलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरियो । उहाँहरुलाई नगद भने गत वर्ष नै प्रदान गरिएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख पौडेलले वडाका जनतालाई आधारभूत स्वास्थ्य सेवा सन्देश पु¥याउने संवाहकका रुपमा स्वयम्सेविकाले गरेको कामको प्रशंसा गर्नुभयो । नगरपालिकाको सीमित स्रोत साधनले गर्दा चाहेर पनि धेरै आर्थिक सहयोग गर्न नसकेको बताउँदै उहाँले आगामी दिनमा पु्नर्विचार गर्दै जाने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले स्वयम्सेविकाले घर–घरमा पुगेर स्वास्थ्य सन्देश प्रवाह र सेवाको भूमिकामा उल्लेख्य योगदान पु¥याएको भन्दै प्रसंसा गर्नुभयो । कार्यक्रमको औचित्यका बारेमा प्रष्ट पार्दै स्वास्थ्य शाखा प्रमुख सुरेश खड्काले प्रत्येक वर्ष यो दिवस मनाउँदै आएको र यस वर्ष पनि निरन्तरता दिएको बताउनुभयो । स्वास्थ्य स्वयम्सेविकाले नियमित खोप कार्यक्रम सञ्चालन, वडामा गर्भवती, सुत्केरी महिलाको अभिलेखीकरण, परिवार नियोजनबारे परामर्श सेवा प्रदान गर्नुका साथै परिवार नियोजनका अस्थायी साधन वितरण, क्षयरोगसम्बन्धमा अभिमुखीकरण तथा शंकास्पद व्यक्तिलाई स्वास्थ्य परीक्षणमा प्रेरित गर्ने लगायतका काम गर्दै आएको उहाँले जानकारी दिनुभयो । सम्मानित हुनेहरुको तर्फबाट गायत्रा भट्टराईले राज्यले आफूहरुलाई उचित सेवा सुविधा दिन नसकेको गुनासो गर्नुभयो । जनस्वास्थ्य निरीक्षक सन्दिप नेयोङले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय