दिलिप पोखरेल/ उर्लाबारी
उर्लाबारी वडा नम्बर ३ मा सञ्चालित पसल तथा व्यवासयहरूले अनिवार्य रूपमा अग्नी नियन्त्रण यन्त्र (Fire Extinguisher) राख्नुपर्ने भएको छ । मंगलबार संगम टोलस्थि वडा कार्यालयमा बसेको वडा समितिको बैठकले व्यवसाय नविकरण तथा दर्ता गर्दा अग्नी नियन्त्रण यन्त्रलाई अनिवार्य गरेको हो ।

वडाध्यक्ष भिष्म बुढाथोकीको अध्यक्षतामा बसेको उक्त बैठकले वडामा सञ्चालित सबै किसिमका पसलहरुको नविकरण र नयाँ दर्ता गर्दा अग्नी नियन्त्रण यन्त्र राखेको अनिवार्य हुनुपर्ने निर्णय गरेको हो ।

यसैबीच, उर्लाबारी नगरपालिका वडा नम्बर ३ ले व्यवासयीहरुका लागि भनेर अग्नी नियन्त्रण यन्त्र खरिद गर्नका लागि २५ प्रतिशत अनुदान रकम दिने भएको छ । ‘लक्ष्मी पूजाको दिन उर्लाबारीमा दर्दानक घटना घट्यो । त्यसबाट हामीलाई पूर्वतयारीका विषयमा धेरै कामहरु गर्नुपर्ने पाठ सिकियो,’ वडाध्यक्ष बुढाथोकीले भने,’धेरै जसो आगलागीका घटनाहरू मानवीय कारणबाट नै हुने अनुसन्धानबाट पुष्टि भएका छन् । त्यसैलाई ख्याल राख्दा तत्कालका लागि रोकथाम गर्न सकिन्छ भनेर अग्नी नियन्त्रण यन्त्र(Fire Extinguisher) राख्नुपर्न निर्णय लिएका हौं ।’

वडाध्यक्ष बुढाथोकीले अग्नी नियन्त्रक यन्त्र राख्दा हुन सक्ने क्षतिलाई कम गराउन सकिने र धनमाल नष्ट हुनुबाट पनि जोगाउन सकिने बताए । वडाले व्यवासय दर्ता गर्दा Fire Extinguisher राख्ने सवालमा अनुदानको व्यवस्था समेत गरेको छ । यसका लागि व्यवसायीले वडा कार्यालयमा निवेदन दिए वडाले खरिदका लागि २५ प्रतिशत अनुदान दिने पनि निर्णय गरेको छ ।

वडाले आगालगी नियन्त्रणका लागि गरेको निर्णय प्रशंसनीय रहेको मंगलबारे टोल विकास संस्थाका अध्यक्ष पिपलराज गिरीले बताए । उक्त बैठकमा सहभागी रहेका अध्यक्ष गिरीले वडाको यो कदम नगरपालिकाले समेत सिकेर निर्णय लिनुपर्ने धारणा राखेका थिए ।

बैठकमा वडा सदस्यहरू ज्योति धिमाल,कृष्णकुमार थापा, कृष्णकुमारी विक, वडा सचिव सम्झना थापाको उपस्थिती रहेको थियो । यस्तै सो बैठक चन्दने टोल विकास समितिका अध्यक्ष समिर कुँईकेल र सचिव सन्तमान लिम्बू, रामनगर टोल विकास संस्थाका अध्यक्ष मनिराज याख्खा राई, सुनपकुवा टोल विकास संस्थाका अध्यक्ष खेमराज अधिकारी, नयाँ मंगलबारे टोल विकास संस्थाका अध्यक्ष हेम धिमाल, सालबारी टोल विकास संस्थाका अध्यक्ष सेतुराम पौडेललगायतको उपस्थिती थियो ।

व्यवसायीहरूलाई अग्नी नियन्त्रण यन्त्रको प्रयोग तथा उपयोगिताको बारेमा समेत वडाले तालिम दिने तयारी गरेको छ । यसका लागि उद्योग वाणिज्य संघ उर्लावारीका प्रतिनिधिसँग पनि समन्वय गरिने बुढाथोकीले बताए ।

ठूला भवन,सरकारी भवन/कार्यालयहरू, सपिङ कम्प्लेक्सहरूमा अग्नी नियन्त्रण यन्त्रहरू स्वतःरुपमा राखिदै आएको छ । सना पसल तथा व्यवसायहरूमा सावधानी नअपनाउँदा हुने आगलागीले ठूलो धनमालको क्षति हुने गरेको छ ।

गत कार्तिक २६ गते लक्ष्मी पूजाको दिन उर्लावारी-७ बरगाछीस्थित एक सुन पसलमा आगलागी हुँदा चारजना प्रहरीसहित ३० जना घाइते भएका थिए । घाइते मध्ये हालसम्म ५ जनाको मृत्यु भइसकेको छ भने अझै एक जनाको आईसीयूमा उपचार भइरहेको छ । यस्तै, काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा २० जनाको उपचार भइरहेको बुढाथोकीले बताए । घाइतेमध्ये ३ जना भारतमा उपचार भइरहेको छ ।

यसैबीच उर्लाबारी-३ वडा कार्यालयले मंगलबारे क्षेत्रमा दर्ता बिना सञ्चालित पसल तथा व्यवसायहरूलाई अनिवार्य रुपमा दर्ता हुन आउन निर्देशन दिएको छ । वडामा सञ्चालित केही पसलहरू दर्ता नभएको पाइएकाले १५ दिनभित्र दर्ता गराउन निर्देशन दिइएको वडाध्यक्ष बुढाथोकीले बताए ।

वडा समितिको मंगलबार बसेको उक्त बैठकले मंगलबारे क्षेत्रमा जथाभावी रुपमा पेट्रोलियम पदार्थ विक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । ‘जथाभावी रुपमा पेट्रोललगायतका प्रज्जवलनशील पदार्थ सुरक्षा सावधानी बिना बिक्री गर्दा दर्घटना तथा आगलगाीका घटनाका जोखिम बढेकाले यो निर्णय गरेका हौं,’ वडाध्यक्ष बुढाथोकीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय