
उर्लाबारी, १६ पुस
गत लक्ष्मीपूजाको दिन उर्लाबारीमा भएको आगलागी घटनामा घाइते भई उपचार गराइएकाहरुलाई फलोअप र अभिमुखीकरण कार्यक्रमका लागि कीर्तिपुर हस्पिटलका विशेषज्ञ चिकित्सकसहितको टोली उर्लाबारी आएर बिरामीको जाँच गरेको छ ।
उर्लाबारी नगरपालिकाको पहलमा उक्त हस्पिटलका बरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राई नेतृत्वको चिकित्सक टोलीले आज घाइतेको फलोअप जाँच गरेको हो । कीर्तिपुर वर्न हस्पिटलमा उपचारपछि घर फर्केका १८ जनाको आज मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा चेकजाँच गरिएको हो । घाइतेहरुको सहजताका लागि चिकित्सक टोली उर्लाबारीमै बोलाएको नगर प्रमुख गंगाप्रसाद खरेलले बताउनुभयो ।
कीर्तिपुर वर्न हस्पिटलबाट डा. राईसहित फिजियो थेरापिष्ट मोहन डंगोल, प्रोग्राम कोअर्डिनेटर कैलाश खाकी श्रेष्ठ, स्वास्थ्यकर्मीहरु निलम श्रेष्ठ र हिमा राई आउनुभएको छ । डाक्टरलाई उर्लाबारीमै ल्याएर फलोअप गराएकोमा घाइतेहरुले नगरपालिकाप्रति आभार प्रकट गरेका छन् । ‘फलोअपमा उर्लाबारीबाट काठमाडौं जाँदा आउँदा निकै नै समस्या हुन्थ्यो’ घाइतेमध्येका एक राजिव दियालीले भने, ‘नगरपालिकाले यहीँ डाक्टर झिकाएर नबिर्सिने गुन लगाएको छ ।’ मदन भण्डारी अस्पतालमा फलोअप जाँचका क्रममा नगर प्रमुख खरेलसहित प्रदेश सांसद उमाकान्त गौतम, नगर उपप्रमुख मीना खतिवडा पौडेल, नेकपा एमाले नगर अध्यक्ष गंगाप्रसाद बास्तोलालगायतले घाइतेहरुसँग भेटघाट गर्नुभएको छ ।
गत कार्तिक २६ गते उर्लाबारी–७ इटहरा रोडस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते लाई केदार कार्कि नेतृत्वको कोशि प्रदेश सरकारले उद्धार गरि उपचारका लागि काठमान्डौ लगेको थियो । ती मध्ये पाँच जनाको मृत्यु भएको थियो ।



