उर्लाबारी २२ पुष । मोरङको उर्लाबारी-३ स्थित साना किसान कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार उर्लाबारी-३ थापा चोकस्थित दुर्गा मन्दिर परिसरमा आयोजित सो कार्यक्रमको उद्घाटन कोशी प्रदेश सभा सदस्य शोभा चेमजोङ् पालुङ्वाले पानसमा दियो बालेर गरेकी थिईन् । कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा सांसद पालुङ्वाले आफ्नो मन्तव्य राख्ने क्रममा अहिलेको आर्थिक मन्दीको समयमा सचेत भएर कारोबार गर्नुपर्ने बताइन्। उनले शेयर सदस्यको अधिकतम हितमा सहकारीले कार्य गर्नुपर्ने धारणा व्यक्त गरीन् ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथी उर्लाबारी नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष भिष्मराज बुडाथोकीले भर्खरै मात्र उर्लाबारीमा स्थापना गरीएको सो सहकारीले कृषि क्षेत्रमा उल्लेखनिय कार्यहरु गरको बारे चर्चा गरे । उनले वडामा सो सहकारीको कृषि पेशामा आवद्ध कृषकहरुको विभिन्न समुहहरु गठन गरी सीप उपलब्ध गराउनेका अलवा सुलभ पुँजी उपलब्ध गराउने प्रयास सफल बन्दै गएको बताए ।
कार्यक्रममा संस्थाका सिजुवा शाखाका अध्यक्ष दोर्ण पौडेल, मोरङ् जिल्ला समन्वय समिति सदस्य एवम् वडा सदस्य मित्र ढकाल, पूर्व वडाध्यक्ष गञ्जबहादुर कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
सो कार्यक्रममा संस्थाकी अध्यक्ष सिता रायमाझिद्वारा संचालक समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । यस्तै व्यवस्थापक अमर संग्रौलाद्वारा संस्थाको प्रगती प्रतिवेदन र २०७९/०८० को आयव्यय सार्वजनिक र लेखा तथा सुपरिवेक्षण समिती संयोजक जुनिता सुवेदिद्वारा लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
तीन वटै प्रतिवेदनमाथि उठेका जिज्ञासाको अध्यक्ष थापाले प्रष्टीकरण गरेपछि पारित गरिएको थियो ।
सभामा प्रस्तुत प्रतिवेदनमा शेयर रकम १५ लाख ५५ हजार ८ सय रुपैयाँ रहेको सो सहकारीको कुल सम्पति ४४ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको जनाईएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा ५ लाख ७१ हजार ८सय ५६ रुपैयाँ आम्दानी गरेको सो सहकारीको खुद बचत नाफा हिसाब १४ हजार १ सय ३१ रुपैयाँ रहेको प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।
यस्तै सहकारीले चालु आर्थीक वर्ष २०८०/०८१ मा शेयर पुजी २५ लाख पुर्याउने लक्ष्य राखेको बताईएको छ ।
उर्लाबारीमा २०७८ साल भदौमा स्थापित सो सहकारीले हाल उर्लाबारीको वडा नम्बर २ र ३ मा मात्र कार्यक्षेत्र सिमित राख्दै आएको छ । ७८ वटा समूह र ९ वटा अन्तरसमुह रहेको सो सहकारीमा हालसम्म ४ सय ६७ जना शेयर सदस्यहरु रहेको बताईएको छ ।
ग्रामिण भेगका कृषि क्षेत्रमा न्युनतम व्याजदर उपलब्ध गराउदै जिवनस्तर उकास्ने लक्ष्य राखिएको सो सहकारीमा ९९.३% महिलाहरुको सहभागीता रहेको संस्थाकी उपाध्यक्ष कल्पना नाल्बोले जानकारी दिईन् ।
संस्थाकी अध्यक्ष रायमाझिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष नाल्बोले राखेकी थिईन् ।