
उर्लाबारी, ४ माघ । उर्लाबारी नगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरुलाई यसको प्रयोगबारे जानकारी समेत दिएको छ ।
चालु आर्थिक वर्षको बजेटबाट ७५ प्रतिशत अनुदानमा वेड मेकर (ड्याङ बनाउने मेसिन) वितरण गरिएको नगर प्रमुख गंगाप्रसाद खरेलले जानकारी दिनुभयो । उर्लाबारी–१ को नेम्बाङ एग्रो फर्म र उर्लाबारी–९ को कामना कृषि फर्मलाई एक÷एक थान ड्याङ बनाउने मेसिन उपलब्ध गराइएको हो । २ लाख ५५ हजार मूल्य पर्ने मेसिनमा किसानको ६३ हजार ७५० र नगरपालिकाको १ लाख ९१ हजार २५० रुपैयाँ लागत रहेको कृषि शाखा प्रमुख अम्बिका लुइटेलले बताउनुभयो । कृषकलाई मागका आधारमा मेसिन प्रदान गरिएको उहाँले बताउनुभयो ।
कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले नगरपालिकाले कृषि मेसिनरी अनुदानमा दिएको नगर उपप्रमुख मीना खतिवडा पौडेलले बताउनुभयो । किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा बेड मेकर प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
‘परम्परागत रुपमा ड्याङ बनाउन समय र जनशक्ति पनि धेरै लाग्छ’, नगर प्रमुख खरेलले भन्नुभयो, ‘खेतीलाई सरल र सहज बनाउन कृषि मेसिनरी दिएका छौं । यसले कम समय लाग्छ र खर्च पनि कम हुन्छ ।’ कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै उहाँले यसका लागि किसानलाई सहयोग गरिएको बताउनुभयो । ‘कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ’, उहाँले भन्नुभयो, ‘किसानको समस्या बुझेर कृषिमा यान्त्रीकरण गर्नतर्फ लागेका छौँ ।’
नगरपालिकाको अनुदान सहयोगमा मेसिन लिएका नेम्बाङ एग्रो फर्मका सञ्चालक अइन्द्र नेम्बाङले मेसिनको प्रयोगले समय र पैसा बच्ने बताउनुभयो । ‘मेसिन नहुँदा ड्याङ बनाउन समय, जनशक्ति र खर्च पनि बढी लाग्थ्यो ।’ नेम्बाङले भन्नुभयो, ‘अब पैसा र समय बचत हुनेभयो ।’ नेम्बाङले तीन बिघा र कामना कृषि फर्मले पाँच विघा जग्गामा सब्जी खेती गर्दै आएका छन् ।



