काठमान्डौ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने अर्थात कर्कट संक्रान्ति पर्व स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाउने गरिन्छ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिको रुपमा मनाउने प्राचीन परम्परा छ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।
आज विशेष गरी लुतो फल्ने दिनको रुपमा पनि मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतमको भनाई छ ।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानी अमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई हिन्दु धर्मावलम्बीले विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने गर्छन् महिलाले हरियो चुरालगायत कपडा लगाएर यो महिनाभर सोमबारे व्रत लिने चलन छ ।
पशुपतिनाथ र देशभरका शिवालयमा साउनको तयारी
साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ ।
सोमबारको ब्रत लिनेहरु पुर्वी नेपालको सुनसरीको चतरा धाम, बराहक्षेत्र धाम, पिण्डेश्वरी, झापाको अर्जुनधारा धाम लगाएतमा भक्तजनहरुको भिड लाग्ने गर्दछ ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा आउने भक्तजनको व्यवस्थापनका कामको नीतिगत व्यवस्थापनका लागि सञ्चालक परिषद् सदस्य पूणर्बहादुर जेठाराको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
नीति कार्यान्वयनका लागि विभागीय प्रमुखहरू रहेको कार्यान्वयन समितिसमेत गठन भएको छ ।
पशुपतिनाथ मन्दिरमा असार ३२ गते शनिबारदेखि नै भक्तजनको भीड लागेको छ । आइतबार साउन १ गतेदेखिका लागि स्वयंसेवक, महिला प्रहरीलगायतको व्यवस्था मिलाइएको उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय