
उर्लाबारी, ४ फागुन । उर्लाबारीबाट रोजगारको शिलशिलामा हङकङ पुगेका युवाले आफू जन्मे हुर्केको गाउँका बासिन्दालाई अस्पतालसम्मको पहुँच सहज बनाउन एम्बुलेन्स प्रदान गरेका छन् ।
उर्लाबारी नगरपालिका हङकङ परिवारले २५ लाख ५० हजार रुपैंयाँ सङ्कलन गरी पठाएको पैसाले खरिद गरेको एम्बुलेन्स नगरको वडा नं.९ ले सञ्चालन गर्न थालेको छ ।




माघ १४ गतेदेखी एम्बुलेन्स सेवा सुरु गरिएको वडाध्यक्ष नरबहादुर मोक्तानले बताए । वडाध्यक्ष मोक्तानका अनुसार एम्वुलेन्सले विपन्न परिवारलाई नि:शुल्क सेवा दिनेछ ।
नगरले विपन्न परिवार सम्बन्धी कार्यविधि बनाइरहेको छ । कार्यविधि निर्माण भएपछि विपन्न परिवार परिचय वितरण गरिनेछ । परिचय प्राप्त गर्नेलाई नि:शुल्क र अरु सर्वसाधरणलाई २० प्रतिशत छुटमा एम्वुलेन्स सेवा दिइने बताईएको छ ।
एम्वुलेन्स खरिदका लागि हाल हङ्कङमा रहनु हुने उर्लाबारी –९ का याम सेम्बुले एक्लै ५ लाख ३० हजार १ सय ७६ रुपैंया सहयोग गरेका थिए । सेम्बु र साङ्गेहाङ्ग तुम्बाहाम्फेको सक्रियतामा एम्वुलेन्स खरिद गर्ने रकम जुटको हो ।
यता एम्वुलेन्सको चालक र इन्धन खर्च भने नगरपालिकाले ब्यहोर्ने बताईएको छ ।