दिलीप पोखरेल/ उर्लाबारी

उर्लाबारी नगरपालिकामा एउटा बिरामीको एक किसिमको जाँच गर्दा दुई खालको रिपोर्ट आएको खुलेको छ । बिरामी सर्वसाधरण नभएर उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौडेल हुन् । नगर कार्यापालिका सदस्य रहेका पौडेलको उर्लाबारी-३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको र अरनिको अस्पताल उर्लाबारीमा दुई खालको रिपोर्ट देखिएको हो ।

फरक ल्याब रिपोर्ट आएपछि वडाध्यक्ष पौडेलले सास्ती खेप्नुपरेको छ । मदन भण्डारी अस्पतालको ल्याब परीक्षण गर्दा उनलाई डेंगू संक्रमण भएको देखिएको थियो तर जब पुनः उनले अरनिको अस्पतलामा  जाँच गराउँदा टन्सिलको समस्या भएको देखियो ।

डेँगु संक्रमण भएको भनेर मदन भण्डारी अस्पतालले रिपोर्ट दिएपछि वडाध्यक्ष पौडेलले निकै नै सास्ती खेप्‍नुपरो ।

घटनाको हो बिहीबारको । घाँटी दुख्‍ने र ज्वरो आएपछि उनी कोशी प्रदेश सरकार मातहत रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको इमरजेन्सी वार्ड उपचार गराउन पुगेका थिए । उपचारको क्रममा त्यहाँका चिकित्सकले ल्याब परीक्षण गराउन लगाएका थिए । ल्याब रिपोर्टमा डेंगू पोजिटिभि लेखिएपछि उनी त्यस दिन अस्पतलामा नै भर्ना भए । ल्याब रिपोर्टमा डेंगू पोजिटिभ देखिएपछि पौडेलसहित उनको परीवार नै आत्तिएका थिए ।

उनको ल्याव रिपोर्टमा प्लेटलेटसको संख्या १ लाख ४० हजार देखिएको थियो । सामान्य मान्छेमा प्लेटलेटसको संख्या १ लाख ५० हजारदेखि ४ लाख ५० हजारसम्म हुनुपर्ने चिकित्सकहरू बताउँछन् । मदन भण्डारी अस्पतालले डेंगु संक्रमण देखिएको भन्दै उनलाई औषधि खान सुझाव दियो । त्यसदिन उनी दिनभर अस्पतलामा भर्ना भएर साँझ ५ बजे घर फर्किए ।

औषधिले कुनै पनि सुधार नभएपछि रातभर ज्वरो बढेर उनको स्वास्थ्य अवस्था निकै नै जटिल बन्यो । परिवारले वडाध्यक्ष पौडेललाई शुक्रबार बिहान १० बजे अरनिको अस्पतालमा ल्याएर भर्ना गरे ।

अरनिको अस्पतालमा भर्ना भएपछि जब उनको ल्याब रिपोर्ट आयो पौडेल छक्क परे । उनलाई डेंगू नै संक्रमण नभएको रिपोर्ट अरनिको अस्पतालले दियो । अरनिको अस्पतालले दिएको रिपोर्टमा प्लेट्लेटसको संख्या १ लाख ५२ हजार देखियो । जुन सामान्य अवस्था हो । त्यहाँका चिकित्सकहरुले उनलाई डेंगु संक्रमण नभएर टन्सिलमा संक्रमण बढेकोले घाँटी दुखाई र ज्वरो आएको बताए ।

हाल अरनिकोमा उपचाररत पौडेलको अवस्था सुधारोन्मुख हुँदै गएको छ । वडाध्यक्ष पौडेलले भने, ‘ मदन भण्डारी अस्पतालले डेंगु जस्तो प्राणघातको रोगको संक्रमण देखियो भनेपछि म र मेरो परिवार आत्तियौ, निकै तनाव भयो ।’

यता मदन भण्डारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साहले डेंगुसँग मिल्दोजुल्दो लक्षण देखिएकोले परीक्षण गर्दा त्यस्तै किसिमको रिपोर्ट आएको बताए । उनले मंगलबारे  भने,” वडाध्यक्षज्युको प्रारम्भिक रिपोर्टमा उच्च ज्वरो र किटमा डेँगु पोजिटिभ नै देखिएकाले हामीले डेंगु संक्रमण भन्यौ। ‘

मेसु साहले कीटको रिपोर्ट सधै सय प्रतिशत सही नदेखिने बताउँदै बिरामीको अवस्थाको जाँच गरेर समेत डेँगू संक्रमण पुष्टि गर्न सकिने बताए । उनले भने, ” कसैमा ज्वरो सामान्य हुन्छ तर डेंगु जाँच गर्दा पोजिटिभ पाइन्छ, कसैलाई कुनै पनि लक्षण नभई टेष्ट गर्दा समेत पोजिटिभ पाइन्छ भने कसैमा डेँगुको सबै लक्षण देखिदा समेत टेष्ट गर्दा नेगेटिभ देखिन्छ ।”

सो अस्पतालमा यसअघि पनि गलत रिपोर्ट आएको, स्वास्थ्य गुणस्तर घट्दै गएको, चिकित्सकहरुको उपचारमा लापरबाही गर्ने गरेकालगायतका जनगुनासाहरु आउने गरेका छन् । मदन भण्डारी अस्पतालमा बिरामीको चाप धेरै हुने र व्यवस्थित गर्न नसकेको भन्दै बेला बेला स्थानीयहरूले आवाज उठाउँदै आएका छन् ।

यता वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था बुझ्न पुगेका शुभचिन्तकहरूले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको गुणस्तर खस्किदै गएको बताउँदै सर्वसाधारणको उपचारमा सो अस्पतालले हेलचेक्र्याँइ गरेको दाबी गरेका छन् । उनीहरु भन्छन्,” उर्लाबारीमा रहेको सरकारी अस्पतालमा त वडाध्यक्षको भरपर्दो उपचार पाउँदैनन् भने सर्वसाधारणको हालत के होला ?”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय