उर्लाबारी, १५ वैशाख । मोरङको उर्लाबारी नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ ।
आधारभुत तह कक्षा ८ सम्म पढाई हुने स्थानीय पाठ्यक्रम ‘हाम्रो उर्लाबारी’ निर्माण गरिएको हो ।
उक्त पाठ्यक्रमको एक कार्यक्रमका बीच नगर प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मीना खतिवडा पौडेलले विमोचन गर्नुभयो ।
आधारभूत तहको पाठ्यक्रम निर्माण पाठ्यक्रम विज्ञ डा. कृष्णबहादुर राई नेतृत्वको टोलीले बनाएको हो ।
हाम्रो उर्लाबारी पाठ्यक्रममा छ वटा विषयलाई समेटिएको छ । उर्लाबारी नगरपालिकाको भौगोलिक अवस्थिति, प्राकृतिक, भौतिक सम्पदा र पूर्वाधारहरु, उर्लाबारीको सामाजिक, सांस्कृतिक सम्पदाहरु, स्थानीय उत्पादन र पेसागत सम्भावनाहरु, स्थानीय पारिवारिक र आधुनिक जीवनोपयोगी ज्ञान तथा सीपहरु, वन, वातावरण तथा विपद् जोखिम व्यवस्थापन, न्युनीकरण र प्रतिकार्यका सीपहरु, स्थानीय प्रशासन, विकास र सुशासन विषयहरु समेटिएका छन् ।
सो अवसरमा नगर प्रमुख गंगाप्रसाद खरेलले विद्यार्थीलाई आफ्नो भूगोल, संस्कृति, धर्म र रीतिरिवाजका विषयमा थाहै नभई उच्च शिक्षा अध्ययनमा पुग्ने र स्थानीय संस्कार संस्कृतिका बारेमा बेखबर हुने परिपाटीको अन्त्यका लागि स्थानीय पाठ्यक्रम तयार गरिएको बताउनुभयो ।
हाम्रो उर्लाबारी पाठ्यक्रम यही वर्षदेखि उर्लाबारीका सबै सामुदायिक तथा निजी विद्यालयमा अध्यापन गराइने भएको छ । विमोचनकै अवसरमा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई आवश्यक पाठ्यक्रम प्रदान गरिएको शिक्षा शाखा प्रमुख अशोक घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय