उर्लाबारी-३ मंगलबारेमा जारी प्रथम मंगलबारे च्यालेन्ज कप २०८१ फुटबल प्रतियोगिताको चौथौं दिनको खेलमा मिक्लाजुङ जी-११ विजयी भएको छ।
बुधबार मिक्लाजुङले आयोजक मंगलबारे फुटबल क्लव(रातो) लाई ट्राईबेकरमा ४-३ को अन्तरले हराएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक सो खेलको निर्धारित समयमा दुवै टिमले कुनैपनि गोल गर्न नसकेपछि उक्त खोल ट्राईबेकरमा गएको थियो ।
आफ्नो उत्कृष्ट खेल प्रदर्शनी गरेको बताउदै आयोजकले मिक्लाजुङका मौसम सुब्बालाई म्यान अफ दि म्याच घोषणा गरेको थियो । उनी नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत भए ।
मंगलबारे फुटबल क्लव र वडा खेलकुद समिती उर्लाबारी ३ को आयोजनामा आईतबारखी सुरु भएको सो प्रतियोगिता आगामी जेठ १५ गतेसम्म संचालन हुनेछ । सो प्रतियोगीतामा झापा, मोरङ र सुनसरीका १० वटा क्लवको सहभागीता रहेको आयोजक क्लवका अध्यक्ष पपिन राईले बताए ।
उर्लाबारी वडा नम्बर ३ सालबारीस्थित प्रस्तावित रंगशालामा संचालन भैरहेको सो प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक वडा खेलकुद समितीले जनाएको छ ।
यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच, उत्कृष्ट खेलाडी, वेष्ट मीड फिल्ड, वेष्ट डिफेन्स, हाई स्कोरर, वेष्ट गोल किप्परलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने कोषाध्यक्ष आयुष पुरीले जानकारी दिए ।
उर्लाबारी नगरपालिकाको मुख्य प्रयोजन रहेको सो प्रतियोगिताको पाँचौं दिनको खेल बिहिबार बुढासुब्बा युथ क्लव, गछिया र बेलबारी फुटबल क्लव, गछियाबीच दिउसो ३ बजेदेखी संचालन हुनेछ ।
तस्विरहरु: मंगलबारे फुटबल क्लव