उर्लाबारी-३ मंगलबारेमा जारी प्रथम मंगलबारे नकआउट च्यालेन्ज कप २०८१ फुटबल प्रतियोगिताको पाँचौ दिनको खेलमा बेलबारी फुटबल क्लव विजयी भएको छ ।
बिहिबार बेलबारीले बुढासुब्बा युथ क्लव, गछियालाई १-० को गोलअन्तरले हराएको थियो । खेलको ५५औं मिनेटमा बेलबारीका जर्सी नम्बर २२ का खेलाडी मौसम सुब्बाले गरेको उत्कृष्ट गोल नै सो खेलको निर्णायक गोल बनेको थियो । जितसँगै बेलबारी प्रतियोगिताको सेमीफाईनल प्रवेश गरेको छ । यसैबिच यसअघि चुलाचुली स्पोर्टिङ क्लव र विराटनगर स्पोर्ट एकेडेमी सो प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरिसकेका छन् ।
आफ्नो उत्कृष्ट खेल प्रदर्शनी गरेको बताउदै आयोजकले बेलबारीका मौसम सुब्बालाई म्यान अफ दि म्याच घोषणा गरेको थियो । उनी नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत भए । उनलाई मंगलबारे भेट्रान क्लवका अध्यक्ष राम सुवेदील सो पुरस्कार हस्तान्तरण गरेका थिए ।
मंगलबारे फुटबल क्लव र वडा खेलकुद समिती उर्लाबारी ३ को आयोजनामा आईतबारखी सुरु भएको सो प्रतियोगिता आगामी जेठ १५ गतेसम्म संचालन हुनेछ । सो प्रतियोगीतामा झापा, मोरङ र सुनसरीका १० वटा क्लवको सहभागीता रहेको आयोजक क्लवका अध्यक्ष पपिन राईले बताए ।
उर्लाबारी वडा नम्बर ३ सालबारीस्थित प्रस्तावित रंगशालामा संचालन भैरहेको सो प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक वडा खेलकुद समितीले जनाएको छ ।
यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच, उत्कृष्ट खेलाडी, वेष्ट मीड फिल्ड, वेष्ट डिफेन्स, हाई स्कोरर, वेष्ट गोल किप्परलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने कोषाध्यक्ष आयुष पुरीले जानकारी दिए ।
उर्लाबारी नगरपालिकाको मुख्य प्रयोजन रहेको सो प्रतियोगिताको छैठौं दिनको खेल शुक्रबार केर्खा स्पोर्टिङ् क्लव र मिक्लाजुङ जी-११बिच दिउसो ३ बजेदेखी संचालन हुनेछ ।
तस्विरहरु: मंगलबारे फुटबल क्लव