
सुन्दरहरैंचा , २८ जेठ । मोरङको सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रसाद ढकालले पूर्वाञ्चल विश्वविद्यालयको सुधारका निम्ति उपकुलपति सँग विभिन्न मागहरू प्रस्तुत गरेका छन् । विश्वविद्यालयमा उपकुलपतिको रूपमा आएका डा. विजुकुमार थपलियालाई सफल कार्यकालको शुभकामना दिँदै निवर्तमान मेयरले विभिन्न मागहरू राखेका हुन ।
निवर्तमान मेयर ढकालले विश्वविद्यालयमा प्राविधिक शिक्षामा जोड दिनुपर्ने, मेडिकल कलेज संचालन को लागि आवश्यक बजेटको माग गरि विनियोजन गर्नुपर्ने, विभिन्न विषयगत विषयहरूमा स्थानीय विधार्थीहरुको लागि अलग्गै प्रतिस्पर्धा कोटाको निर्धारण गरिनुपर्ने, विश्वविद्यालयको जग्गा तथा सम्पति सामान सुरक्षित हुनुपर्ने, रोकिएको परीक्षाफल प्रकाशन गरिनुपर्ने, विश्वविद्यालयमा रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने, अस्पतालमा नियमित डाक्टरको सेवा लगायत अन्य सेवाहरु उपलब्ध हुनुपर्ने जस्ता मागहरू राखेका हुन ।




सोमबार निवर्तमान मेयर ढकालको निवासमा विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरु सहित उपकुलपति थपलिया सँगको भेटमा ढकालले विश्वविद्यालय सुधारको लागि स्थानीयले भरपुर सहयोग गर्ने बताउँदै राजनीतिक दल तथा व्यक्तिहरूको दबाबमा भन्दा स्थानीयको आवाजलाई ध्यान दिनुपर्ने बताएका थिए । विश्वविद्यालयका उपकुलपति थपलिया सँग भएको छलफलमा विभिन्न संघसस्थाका प्रतिनिधिहरूले विश्वविद्यालयमा भएको समस्या बारे प्रश्न उठाएका थिए ।
छलफलमा उपकुलपति डा. थपलियाले आफू स्थानिय भएको , २५ बर्ष देखि त्यहि कार्यरत भएकोले समस्याहरुमा जानकार रहेको , विश्वविद्यालय सुधार्नकै निम्ति आएकाले पनि यी समस्याहरूलाई आफूले सकेसम्म सम्बोधन गर्ने बताए । विश्वविद्यालयमा पठनपाठन र अस्पताललाई थप गुणस्तरीय बनाउन आफू लागि पर्ने थपलियाले बताए ।