उर्लाबारी, २८ असार । मोरङको सुन्दरहरैँचामा कुखुरा फार्मका सञ्चालकको हत्या गर्ने दम्पती पक्राउ परेका छन् ।
हत्यामा संलग्न मोरङको उर्लाबारी नगरपालिका-४ घर भएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फार्मका सञ्चालक सुन्दरहरैँचा नगरपालिका-९ का ४९ वर्षीय सहदेव बजगाईंको बिहीबार बिहान हत्या भएको थियो ।
बजगाईंले सुन्दरहरैँचा-१ मा कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए । एसपी कार्कीका अनुसार हत्यामा संलग्न दम्पती खुकुरा फार्मकै कामदार हुन् । डेढ महिना अघिदेखि उनीहरुले कुखुरा फार्ममा काम गर्दै आएको पत्ता लागेको छ । उनीहरु फार्मभित्रै बस्दै आएका थिए ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार फार्मका सञ्चालक बजगाईंको हत्या गरेर फरार भएका उनीहरुलाई सुनसरीको धरान उपमहानगरपालिका-१२ स्थित अरुणोदय धर्मशालाबाट हिजो साँझ ७ः३० बजेतिर पक्राउ गरेर बेलबारी ल्याइएको छ । हत्यामा संलग्नविरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीबाटै कर्तव्य ज्यान मुद्दा चल्ने छ ।
प्रहरीका अनुसार फार्मका सञ्चालक बजगाईंले काम गरेको पैसा नदिने र गालीगलौज गर्दै तुच्छ व्यवहार गर्ने गरेका कारण सहन नसकेर हत्या गरेको उनीहरुले स्वीकार गरेका छन् ।
एसपी कार्कीका अनुसार बन्चरो र दाउ प्रहार गरेर उनको हत्या गरेपछि कामदार दम्पती फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थलबाट रगत लतपतिएको बन्चरो र दाउ बरामद भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय