काठमान्डौ, २८ असार । प्रतिनिधि सभामा आज शुक्रबार राखेको विश्वासको मतको प्रस्तावका पक्षमा बहुमत नआएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ पदमुक्त भएका छन् ।
शुक्रबार २५८ जना सांसद उपस्थित रहेकोमा प्रधानमन्त्रीको प्रस्तावका पक्षमा जम्मा ६३ मत परेको छ भने विपक्षमा १९४ मत परेको सभामुख देवराज घिमिरेले बताए । प्रस्तावमा मत दिन्न भन्नेमा जम्मा १ मत परेको छ ।
प्रधानमन्त्री दाहालले राखेको विश्वास मतको प्रस्तावका पक्षमा उनको दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) ले मत दिएका छन् ।
प्रस्तावको विपक्षमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमतलगायत दलका सांसद उभिए ।
दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसयता गठबन्धन फेरबदल गर्दै प्रधानमन्त्री दाहालले शुक्रबार पाँचौं पटक विश्वास मत प्रस्ताव पेस गरेका थिए । यसअघि विश्वास मत पाउँदै आएका प्रधानमन्त्री दाहालले यसपालि विश्वास मत जुटाउन सकेनन् र सत्ताबाट बहिर्गमन भएका छन् ।
अब कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने प्रक्रिया सुरू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय