
काठमाडौं, १६ साउन । धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको विमान उडानका क्रममा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१ का शिवराज ओझा रहेका प्रहरीले जानकारी दिएको छ । श्री एयरलाइन्स मंगलबार साँझ ४ बजेको काठमाडौं-धनगढी उडान नम्बर २२५ मा एयर होस्टेजको खुट्टा तान्दै दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ ।
काठमाडौंबाट ढिलो गरि उडेको श्रीएयरको विमान साँझ ५ बजेर ५० मिनेटमा धनगढी विमानस्थलमा अवतरण गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले उडानका क्रममा एयरलाइन्सका कर्मचारीमाथि अभद्र व्यवहार गरेको गुनासोका आधारमा ओझालाई पक्राउ गरिएको जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।



