
उर्लाबारी , १६ साउन । मोरङको उर्लाबारी वडा नम्बर ५ का हत्या आरोपि सुभाष तामाङ पक्राउ परेका छ्न ।
मंगलबार साँझ करिव ७:२० बजे स्थानिय लामाले आफ्नै घरमा वडा नम्बर ४ आईतबारेका २१ वर्षिय कुशल दाहाललाई छुरा प्रहार गरेका थिए । छुरा प्रहार बाट गम्भिर घाईते बनेका दहालको उपचारका क्रममा मृत्यु भएको थियो ।




प्रहरीका अनुसार तामाङले लाट्ठी र खुकुरी प्रहार गरेर उर्लाबारी-४ का २१ वर्षीय कुशल दाहालको हत्या गरेका हुन्। तामाङले अन्य युवाहरूको सहयोग लिएर दाहाल र उर्लाबारी-४ कै ३१ वर्षीय सञ्जय आचार्यलाई साँझ ६ बजेतिर उर्लाबारी-५ स्थित उद्योग वाणिज्य संघको कार्यालयनजिकै रहेको आफ्नो घरमा लगेका थिए।
प्रहरीका अनुसार उर्लाबारी-५ का अन्दाजी २५ वर्षीय करण लिम्बु, उर्लाबारी-६ का अन्दाजी ३० वर्षीय रिजन आलेमगर र उर्लाबारी-७ का अन्दाजी २८ वर्षीय आङसुहाङ देवानले दाहाल र आचार्यलाई तामाङको घरसम्म पुर्याउन मद्धत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। तर, हत्यामा उनीहरुको संलग्नता यकिन भइसकेको छैन।
‘घटना हुनुअघि दाहाल र आचार्यलाई तामाङको घरसम्म पुर्याउन सहयोग गरेको देखिन्छ। त्यसका लागि स्कुटरसमेत उपलब्ध गराएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘तर, प्रारम्भिक अनुसन्धानबाट हत्यामा लिम्बु, आलेमगर र देवानको प्रत्यक्ष संलग्नता देखिँदैन। तामाङको घरसम्म लैजान सहयोगीको भूमिकाचाहिँ निर्वाह गरेको खुल्यो।’ उनीहरू फरार रहेका कारण पक्राउ परेपछि मात्रै सबै कुरा प्रष्ट हुने प्रहरीले जनाएको छ।
घटनापछि फरार बनेका तामाङलाई भने प्रहरीले बुधबार दिउँसो मोरङको सुन्दरहरैँचा नगरपालिका-४ दुलारीबाट पक्राउ गरेको छ। उनी बसमा चढेर धरानतर्फ भाग्दै गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए। दाहालको हत्या गरेर तामाङ फरार भएपछि प्रहरीले सार्वजनिक सवारीसाधन चेकजाँचमा कडाइ गरेको थियो। को१ख ६४७१ नम्बरको बसमा चढेर धरानतर्फ जाँदै गरेको अवस्थामा ट्राफिक प्रहरी पोस्ट गछियाका असइ किशोर निरौला नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको जानकारी कार्कीले दिए।
कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका उनी सजायमा माफी मिनाहा पाएर कारागारबाट छुटेको खुलेको छ। जेलबाट छुटेपछि पनि उनी विभिन्न अपराधमा संलग्न भएको रेकर्ड प्रहरीसँग छ।
उनका अनुसार ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा बसभित्र भेटिएपछि तामाङलाई पक्राउ गरिएको हो। पक्राउ गरेर तामाङलाई इलाका प्रहरी कार्यालय बेलबारीको जिम्मा लगाएको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ।
घटनाका प्रत्यक्षदर्शी आचार्यलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार लाट्ठी र खुकुरी प्रहार तामाङले मात्रै गरेको खुलेको छ। ‘तामाङ आक्रमणमा उत्रिएपछि अरुले छुट्याउनलाई भूमिका खेलेको भनिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘तर, अनुसन्धानपछि मात्रै वास्तविकता थाहा हुन्छ।’
घरमा तामाङ एक्लै बस्दै आएको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले फरार रहेकाको खोजी गरिरहेको छ। दाहालको हत्या भएलगत्तै मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं घटनास्थल पुगेका थिए।
प्रहरीका अनुसार तामाङले आफ्नो मोबाइल चोरी गरेको आरोप दाहालमाथि लगाएको र आचार्यले भने तामाङसँग केही दिनअघि १ हजार रूपैयाँ सापटी लिएर फिर्ता नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘दाहाललाई मोबाइल चोरी गरेको आरोप लगाइएको रहेछ। आचार्यले सापटी लिएको पैसा फिर्ता गरेका रहेनछन्,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने, ‘दुवै जनालाई उर्लाबारी चोकमा भेटेपछि केही युवाहरूको सहयोग लिएर तामाङले आफ्नो घरमा लगेछन्। घर पुर्याएर सुरुमा दाहालमाथि आक्रमण गरेको पाइएको छ।’
मोबाइलको विषयमा विवाद हुन थालेपछि दाहालमाथि लाट्ठी र खुकुरीले प्रहार गरिएको बस्नेतले बताए। उनका अनुसार प्रहरीले सोधपुछ गर्ने क्रममा आचार्यले आफूमाथि पनि लाट्ठी प्रहार भएको बताएका छन्। तामाङको आक्रमणबाट गम्भीर घाइते भएका दाहाललाई आचार्यले नै सीटी सफारीमा राखेर उपचारका लागि उर्लाबारीको गोदावरी अस्पताल पुर्याएको जानकारी बस्नेतले दिए।
थप उपचारका क्रममा झापा बिर्तामोडको बीएन्डसी अस्पतालमा राति ८:४० बजेतिर दाहाललाई चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए। उनका अनुसार मृतक दाहाल र आचार्य साथी हुन्। आचार्यलगायतका युवा घटनाका प्रत्यक्षदर्शी रहेको खुलेको छ।