
विराटनगर, १७ साउन । सुनसरी प्रहरीले बालिकालाई अहपरण गरेर बन्धक बनाएको आरोपमा विराटनगरबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको दुहबीबाट मंगलबारदेखी हराईरहेकी ६ वर्षीया बालिका अपहरण गरेर विराटनगरमा बन्धक बनाएको आरोपमा उनीहरुलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर-१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवान रहेका छन् । यीमध्ये सञ्जयले बालिकाको अपहरण गरी कलानन्द र सरिताको डेरामा ल्याएर राखेको प्रहरीले बताएको छ ।
सञ्जयले फिरौतीका लागि नभएर बालिकाको ठूलीआमालाई विदेश जान रोक्नका लागि अपहरण गरेको प्रहरीको अनुमान छ ।
बालिकाको ठूलीआमा वैदेशिक रोजगारीमा जानका लागि काठमाडौं गएकी थिइन् । उनीसँग सञ्जयको केहि भित्री सम्बन्ध थियो । उनलाई रोक्नका लागि मंगलबार बालिकाको अपहरण गरेर मामालाई फोन गरिएको थियो । सञ्जयले दिदी (बालिकाको ठूलीआमा) लाई फिर्ता बोलाउन समेत भनेको खुलेको छ ।
प्रहरीका अनुसार बालिकाको ठूलीआमा र अपहरणमा संलग्न सञ्जयबीच हिमचिम थियो । तर, आफुलाई छोडेर जाने भएपछि उनले बालिकालाई लुकाएर फर्काउन चाहेका बताए । बहिनीको छोरी अपहरणमा परेको भनेपछि दिदी फर्कने आसा सञ्जयले राखेका थिए ।
बालिका मंगलबार दिउँसो ३ बजेतिर हराएकी थिइन् । बालिका हराएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय दुहवीले खोजी गर्ने क्रममा बुधबार बिहान विराटनगर-१० बाट उद्दार गरिएको थियो ।



