झापा, १९ साउन । झापा जिल्लामा दुई महिनाको अवधिमा एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन्।
सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताए ।
मेचीनगर-११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आएका नारायण रिजालले यसपालि सुपारीका बिरुवाको माग धान्न हम्मे-हम्मे भइरहेको बताए । जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उनको ठम्याइ छ ।
उनले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काएका थिए । असारसम्ममा १० हजार बिरुवा बिक्री भइसकेको र अब पाँच हजार बिरुवा नर्सरीमा रहेको उनले जानकारी दिए । बिक्री भएका १० हजार बिरुवाबाट उहाँले रु १२ लाख आम्दानी गरेका छन् ।
किसानहरुले सुपारीका बिरुवा प्रतिगोटा एक सयदेखि रु एक सय २० सम्ममा किनेर लैजाने गरेका छन् । जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायतका क्षेत्रमा दर्जनौं अनुभवी किसान र सुपारी सहकारीले सुपारीका बिरुवा बिक्री गर्दै आएका छन् ।
झापा जिल्लामा तीन हजार छ सय ७५ हेक्टर जमिनमा सुपारीखेती हुदै आएको छ। केही वर्षयता धान र चियाखेती मासेर किसानहरुले धमाधम सुपारीका बिरुवा रोप्न थालेका कारण सुपारीखेतीको क्षेत्रफल बढिरहेको जानकारहरु बताउछन् ।
झापा सुपारीखेतीका लागि उर्वर हावापानीयुक्त स्थान मानिएको छ । हात्ती लगायतका जंगली जनावरले अन्न र तरकारीबाली खाएर क्षति गरिदिने हुँदा किसान वैकल्पिक खेतीको रुपमा सुपारीतर्फ आकर्षित भएका हुन् ।
ADVERTISEMENT