काठमाडौं, २० साउन । नेपथ्यले अमेरिका टुर कोलोराडोबाट थालेको छ । टूरको पहिलो प्रस्तुति कोलोराडोको बोल्डरमा सम्पन्न गरेको छ ।
दुई घण्टा लामो कन्सर्टपछि सहभागि दर्शकले उत्साह व्यक्त गरेको ब्याण्डले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
कोलोराडो राज्यकै ऐतिहासिक धरोहर मध्येमा पर्ने झण्डै सवा एक सय वर्ष पुरानो बोल्डर थिएटरमा तीन दशकदेखि सेवारत रोब भन्दै थिए- ‘मञ्चबाट आएको कलाकारको आवाजभन्दा दर्शकहरुको सामूहिक गायन चर्को हुँदा, ध्वनि व्यवस्थापन गर्न चुनौतिपूणर् हुन्छ, यो कार्यक्रममा मलाई त्यस्तै अनुभव भयो ।’
अमेरिकाका सात सहरमा कन्सर्ट गर्ने ब्याण्डको योजना छ । ४० दिनमा सात कार्यक्रमको कार्यसूचीसहित कोलोराडोको डेनवर पुगेको नेपथ्यको पहिलो कार्यक्रम आत्मीय रहेको बताइएको छ ।
स्थानीय आयोजक ‘कोसेली कोलोराडो’ समूहले ब्याण्डको प्रस्तुति कोलोराडो राज्यमा आजसम्मकै सबैभन्दा ठूलो नेपाली कार्यक्रम रहेको बताएको छ । दोस्रो कन्सर्ट अमेरिकाको पश्चिमी तटीय समृद्ध सहर सान-फ्रान्सिस्कोमा हुनेछ । त्यहाँस्थित ‘वारफिल्ड थिएटर’ मा अगस्ट १० तारिखका दिन नेपथ्य आठ वर्षको अन्तरालपछि फेरि प्रस्तुत हुँदैछ ।
त्यसपछि ओहायो राज्यको राजधानी कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्याण्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसवर्गमा प्रस्तुत हुनेछ ।
ADVERTISEMENT