बाग्लुङ, २३ साउन । बाग्लुङको बडीगाड गाउँपालिका-१० आरुपाटामा पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।
घाइतेहरू ३१ वर्षीया सीता थापा, १९ वर्षीया रिमा पुन र ४६ वर्षीय संगीता बुढालाई उपचारका लागि काठमाण्डौ पठाइएको हो ।

प्रतिकूल मौसमका कारण हिजो उनीहरूलाई उपचारका लागि अन्त लैजान सक्ने अवस्था नभएपछि आज नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ पठाएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । हिजो बडीगाड-१० आरुपाटामा घरमा पहिरो खस्दा ६ जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै बडीगाड-९ मा दुई जना गरी ८ जनाको ज्यान गएको थियो । पहिरोमा ९ जना घाइते भएका छन् ।
घाइतेमध्ये अरूलाई थप उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । त्यस्तै ओमप्रसाद पुन, सिर्जना विक, मंगलसेन बुढा, सुमित्रा विक, सशीराम विक र ज्ञाने बुढाको बुर्तिबाङमा उपचार भइरहेको छ ।
पहिरोमा हराइरहेका चार जनाको खोजी भइरहेको छ । पहिरोका कारण झन्डै ५० घरधुरी विस्थापित भएका छन् । उनीहरूलाई पनि खाने, बस्ने र सुरक्षित पानीको अभाव भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय