उर्लाबारी,२ भदौ । मोरङको उर्लाबारी – ७ स्थित नेपाल दर्शन कलेजमा नवआगन्तुक विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार उर्लाबारी पार्टि प्यालेसमा आयोजित एक भव्य समारोहबिच कक्षा ११ र विविएस प्रथम वर्षमा अध्ययनरत नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा १२ कक्षा अध्ययन पुरा गरेका विद्यार्थीलाई विदाई गरिएको छ।
यस्तै सो अवसरमा विविएस अध्ययन सकेका विद्यार्थीहरुको दिक्षान्त समारोह समेत आयोजना गरिएको थियो । औपचारीक र अनौपचारीक दुई शत्रमा संचालन गरिएको उक्त समारोहअन्तर्गत दोस्रो शत्रमा विद्यार्थीहरुले आफ्ना विभिन्न कलाहरु प्रस्तुत गरि भरपुर मनोरञ्जन लिएका थिए । विद्यार्थीहरु स्वयमले संचालन गरेको दोस्रो शत्रको कार्यक्रममा नृत्य,गायन, साहित्यीक वाचनलगायतका विभिन्न कलाहरु प्रस्तुत गरेका थिए ।
पहिलो शत्रको औपचारीक कार्यक्रमको प्रमुख अतिथी उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना खतिवडा पौडेलले महिला नेतृत्वको व्यवस्थापनमा चलिआएको सो कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भई विद्यार्थीहरुको क्षमता अभिवृद्धि र जिवन उपयोगी शिक्षा प्रदान गराउदै आएको बताईन् । यस्तै उनले राज्यले बनाएको १० प्रतिशत छात्रवृत्ती योजना पूर्ण रुपमा सो कलेजमा लागु भएको पाईएको बताउदै विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरिन ।
यस्तै सो अवसरमा अभिभावक चुडामणि सापकोटाले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरुको पढाईका विषयमा मन्तव्य राखेका थिए ।
सो अवसरमा विज्ञान र व्यवस्थापन दुवै संकायअन्तर्गत कक्षा ११ र १२ को वार्षिक परिक्षामा प्रथम, द्वितिय र तृतिय स्थान हाँसिल गर्ने र ११ कक्षाको ईन्ट्रान्स परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई अभिभावकसहित पुरस्कृत गरिएको थियो ।
सो अवसरमा कलेजका शिक्षक रत्नबहादुर थापा, श्यामबहादुर बस्नेत र रोजेश पौडेललाई समेत सम्मानित गरिएको थियो ।
सो क्याम्पसकी क्याम्पस प्रमुख सविना खड्का कार्कीको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तव्य कलेज काेअर्डिनेटर गाेविन्द भट्टराईले राखेका थिए ।
कलेजका शिक्षक नवराज भट्टराई र विद्यार्थी मुकुन्द निरौलाको संचालन रहेको सो कार्यक्रममा सहायक क्याम्पस प्रमुख दुर्गाप्रसाद पाैडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
वि.सं. २०५४ सालमा स्थापित सो कलेजमा हाल ४ सय ५० भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् ।
सो अवसरमा कलेजका गतिविधी बारे प्रष्ट्याएका कलेजका प्रबन्ध निर्देशक केपी शिवाकोटीका अनुसार यसपटक सो कलेजमा कक्षा ११ मा २ सय विद्यार्थी भर्ना भएका छन् ।