उर्लाबारी-२ तिनघरेमा जारी प्रथम चाँदनी खुला नकआउट फुटबल प्रतियोगिता २०८१ को तेस्रो दिनको खेलमा गोर्खाज र लेटाङ फुटबल क्लव विजयी भएका छन्।
सोमबार गोर्खाज र किर्तिपुर फुटबल क्लवबिच भएको पहिलो खेलमा २-१ को अन्तरले गोर्खाज फुटबल क्लव विजयी भएको छ । उक्त खेलमा गोर्खाजका जर्सी नम्बर ९ का चरी लिम्बुले खेलको २६ र ३७ औँ मिनेटमा २ गोल गरेका थिए । यता किर्तिपुरको तर्फबाट जर्सी नम्बर १६ का दिपेश दर्नालले खेलको ११औँ मिनेटमा रक्षात्मक १ गोल गरेका थिए ।
यस्तै सोमबार भएको दोस्रो खेलमा हिमालय युनाईटेड फुटबल क्लवलाई १-० को अन्तरले हराउदै लेटाङ फुटबल क्लव विजयी भएको छ ।
जितको लागि लेटाङका जर्सी नम्बर ७ का नितेश लिम्बुले खेलको ५ औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए।
पहिलो खेलमा उत्कृष्ट खेल प्रदर्शनी गरेको बताउदै आयोजकले गोर्खाजका चरी लिम्बुलाई म्यान अफ दी म्याच घोषणा गरेको थियो । यस्तै दोस्रो खेलमा लेटाङका नितेश लिम्बु म्यान अफ दी म्याच घोषित भएका थिए । उनीहरुलाई मायाको चिनो प्रदान गर्देै पुरस्कृत गरिएको थियो ।
यसैबिच आजको दुई खेल समापन भएसँगै सो प्रतियोगिताको २ वटा क्वाटर फाईनल खेल सम्पन्न भएको छ। यस्तै मंगलबार हुने दोस्रो दिनको क्वाटरफाईनल खेलअन्तर्गत पहिलो खेल मंगलबारे र जाँते फुटबल क्वलबिच पहिलो क्वाटर फाईनल खेल दिउसो ३ बजेदेखि संचालन हुने आयोजक क्लवका अध्यक्ष अनिल राईले बताए ।
यस्तै भोली हुने दोस्रो खेलअन्तर्गत डिएफओ मोरङ र छत्रपुर फुटबल क्लबबिच कढा प्रतिस्पर्धा हुने बताईएको छ ।
उर्लाबारी वडा नम्बर २ तिनघरेस्थित चाँदनी युवा क्लवको आयोजनामा संचालन भएको सो प्रतियोगितामा मोरङका विभिन्न पालीकाहरुका १६ वटा क्लवको सहभागिता रहेको छ ।
‘लागुऔषधलाई छोडौं, युवाहरुलाई फुटबलको मैदानमा जोडौं’ भन्ने मुल नाराका साथ सो प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष राईले बताए । उनकाअनुसार पछिल्लो समय ग्रामीण भेगमा युवाहरु लागुऔषध र दुर्व्यसनीमा फस्ने गरेको पाईएपछि युवाहरुलाई फुटबलको माध्यमबाट लागुऔषधमुक्त बनाउने अभियानका साथ खेलकुदमा जोड्न खोजिएको हो ।
सो प्रतियोगिताको विजेताले ३० हजार , उपविजेताले १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर, वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डर, म्यान अफ दी म्याचलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने क्लवका सल्लाहकार नरबहादुर धिमालले जानकारी दिए ।
तस्विरहरु: विमल राई/ चाँदनी युवा क्लव