ऋषिकेश खनाल,
उर्लाबारी, २५ भदौ । मोरङको उर्लाबारी-६ मा रहेको राधिका माध्यमिक विद्यालयले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयले सोमबार एक समारोहका विच भव्य रुपमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा विगत ५२ वर्षदेखि लेखा शाखामा कार्यरत कर्मचारी डम्बर भट्टराई,३४ वर्षदेखि शिक्षण पेशामा कार्यरत अनिवार्य अवकाश हुनुभएकी शिक्षक सर्सुदेवी गुरुङ र २५ वर्ष शिक्षण सेवा गरि स्वेच्छिक अवकाश लिनु भएकी शिक्षक नर्वदा श्रेष्ठ लगायतलाई विद्यालयले उच्च सम्मानका साथ विदाई गरेको छ । विदाई हुने सवैलाई विद्यालयले दोसल्ला, प्रमाणपत्र, मायाको चिनो प्रदान गरेको छ ।
यस्तै विद्यालयमा नवनियुक्त शिक्षक विनिता पाण्डे, पदम गौतम, नवीन बाँस्कोटा तथा सरुवा भइ आउनुभएका शिक्षक पदम लुइँटेललाई स्वागत गरेको छ ।
विद्यालय व्यावस्थापन समितीका अध्यक्ष लोलिम पोमु (लिम्बू) को सभापतित्वमा भएको उक्त कार्यक्रममा सेवा निवृत्त शिक्षक, कर्मचारीले विद्यालयको उन्नतीको कामना व्यक्त गर्नुभयो ।
उक्त अवसरमा विद्यालयमा दीर्घ सेवा गर्नुभएका लेखा कर्मचारी डम्बर भट्टराईलाई विद्यालयको तर्फबाट एकमुष्ट रु.६,००,०००/- छ लाख नगद चेक समेत हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रमको संचालन विदाइ तथा स्वागत समारोह समितिका संयोजक/शिक्षक रीता घिमिरेले गर्नुभएको थियो ।
यस्तै विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीणर् विद्यार्थीलाई विदाई गरेको छ ।
विदाई तथा स्वागत समितिको आयोजनामा उर्लाबारी नगरपालिकाकी नगर उपप्रमुख मीना खतिवडा पौडेलको प्रमुख आतिथ्यतामा एक भव्य कार्यक्रमका साथ विद्यार्थीको स्वागत तथा विदाई सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि उप-प्रमुख पौडेल, विशिष्ट अतिथिहरु वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौड्याल, उर्लाबारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिग्राम काफ्लेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेल, शिक्षक अभिभावक संघका अध्यक्ष गणेश दुलाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलगायतको आतिथ्यता रहेको थियो ।
कक्षा १२ का छात्र गौरव दाहालको अध्यक्षता प्रेस्मा दंगालको सञ्चालन रहेको कार्यक्रममा विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।
राधिका मावि कक्षा ११ मा यस वर्ष दुई सयभन्दा बढी विद्यार्थी भर्ना भएको विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेलले बताउनुभयो ।
सो विद्यालयमा विज्ञान, बालीविज्ञान, वाणिज्य, शिक्षा, कानुन विषयको पठनपाठन हुँदै आएको छ ।
यस क्षेत्रकै नमुनाको रुपमा अघि बढेको राधिका माविमा हाल झण्डै २५ सय विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक पोख्रेलले बताउनुभयो ।
ADVERTISEMENT