उर्लाबारी-२ तिनघरेमा जारी प्रथम चाँदनी खुला नकआउट फुटबल प्रतियोगिता २०८१ को सातौँ दिनको खेलमा उर्लाबारीको गोर्खाज फुटबल क्लव विजयी भएको छ । जितसँगै गोर्खाज प्रतियोगिताको फाईनमा पुगेको छ ।
बुधबार गोर्खाज र मंगलबारे फुटबल क्लवबिच भएको पहिलो सेमीफाईनल खेलमा २-० को अन्तरले गोर्खाज फुटबल क्लव विजयी भएको छ । सो खेलमा गोर्खाजका जर्सी नम्बर १२ का जंगबहादुर खड्काले उत्कृष्ट २ गोल गरेका थिए । सो खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले उनलाई म्यान अफ दी म्याच घोषणा गरेको थियो । उनलाई मायाको चिनो प्रदान गर्देै पुरस्कृत गरिएको थियो ।
यसैबिच बिहिबार प्रतियोगिताको दोस्रो सेमीफाईनल खेलअन्तर्गत डिएफओ मोरङ र लेटाङ फुटबल क्लबबिच कढा प्रतिस्पर्धा हुने आयोजक क्लवका अध्यक्ष अनिल राईले बताए ।
उर्लाबारी वडा नम्बर २ तिनघरेस्थित चाँदनी युवा क्लवको आयोजनामा गत भदौ २० गतेदेखि संचालन भएको सो प्रतियोगितामा मोरङका विभिन्न पालीकाहरुका १६ वटा क्लवको सहभागिता रहेको छ ।
‘लागुऔषधलाई छोडौं, युवाहरुलाई फुटबलको मैदानमा जोडौं’ भन्ने मुल नाराका साथ सो प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष राईले बताए । उनकाअनुसार पछिल्लो समय ग्रामीण भेगमा युवाहरु लागुऔषध र दुर्व्यसनीमा फस्ने गरेको पाईएपछि युवाहरुलाई फुटबलको माध्यमबाट लागुऔषधमुक्त बनाउने अभियानका साथ खेलकुदमा जोड्न खोजिएको हो ।
सो प्रतियोगिताको विजेताले ३० हजार , उपविजेताले १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर, वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डर, म्यान अफ दी म्याचलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने क्लवका सल्लाहकार नरबहादुर धिमालले जानकारी दिए ।
तस्विरहरु: विमल राई/ चाँदनी युवा क्लव