उर्लाबारी-२ तिनघरेमा जारी प्रथम चाँदनी खुला नकआउट फुटबल प्रतियोगिता २०८१ को आठौँ दिनको खेलमा लेटाङको सिद्धार्थ फुटबल क्लव विजयी भएको छ । जितसँगै सिद्धार्थ प्रतियोगिताको फाईनमा पुगेको छ ।

बिहिबार सिद्धार्थ र डिएफओ मोरङ फुटबल क्लवबिच भएको दोस्रो सेमीफाईनल खेलमा ३-२ को अन्तरले सिद्धार्थ फुटबल क्लव विजयी भएको छ । सो खेलमा सिद्धार्थका अनुस मगर, नितेश लिम्बु र सुमन रसाईलीले खेलको २, १७ र ५८ औँ मिनेटमा क्रमश: १÷१ गोल गरेका थिए ।

यता खेलको सुरुवातदेखी नै रक्षात्मक देखिएको डिएफओ मोरङका रोशन दर्नाल र सविन गौतमले खेलको ३५ र ४५ औँ मिनेटमा १÷१ गोल गरेका थिए।

सो खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले सिद्धार्थका सुमन रसाईलीलाई म्यान अफ दी म्याच घोषणा गरेको थियो । उनलाई उर्लाबारीका सामाजिक अभियान्ता रुद्रबहादुर तामाङद्वारा नगदसहित मायाको चिनो प्रदान गर्देै पुरस्कृत गरिएको थियो ।

उर्लाबारी वडा नम्बर २ तिनघरेस्थित चाँदनी युवा क्लवको आयोजनामा गत भदौ २० गतेदेखि संचालन भएको सो प्रतियोगितामा मोरङका विभिन्न पालीकाहरुका १६ वटा क्लवको सहभागिता रहेको थियो ।

‘लागुऔषधलाई छोडौं, युवाहरुलाई फुटबलको मैदानमा जोडौं’ भन्ने मुल नाराका साथ सो प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लवका अध्यक्ष अनिल राईले बताए ।

उनकाअनुसार पछिल्लो समय ग्रामीण भेगमा युवाहरु लागुऔषध र दुर्व्यसनीमा फस्ने गरेको पाईएपछि युवाहरुलाई फुटबलको माध्यमबाट लागुऔषधमुक्त बनाउने अभियानका साथ खेलकुदमा जोड्न खोजिएको हो ।

सो प्रतियोगिताको विजेताले ३० हजार , उपविजेताले १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर, वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डर, म्यान अफ दी म्याचलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने क्लवका सल्लाहकार नरबहादुर धिमालले जानकारी दिए ।

यसैबिच सो प्रतियोगिताको फाईनल खेल यही भदौ २९ गते शनिबार सिद्धार्थ फुटबल क्लव र गोर्खाज फुटबल क्लव, उर्लाबारीबिच दिउसो ३ बजेदेखी संचालन हुने बताईएको छ ।

तस्विरहरु: विमल राई/ चाँदनी युवा क्लव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय