उर्लाबारी, ५ असोज । उर्लाबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खेमराज कार्कीले सवारी ज्यान मुद्धामा सफाइ पाएका छन् । उनीविरुद्ध परेको सवारी ज्यान मुद्धामा गत भदौ २८ गते मोरङ जिल्ला अदालतबाट फैसला भई कार्कीले सफाइ पाएका हुन ।
कार्कीले सवारी ऐन २०४९ को दफा ६१ को उपदफा ३ अनुसार २५ दिन कैद र २ हजार रुपैया बुझाई सफाइ पाएपछि क्याम्पस सञ्चालक समितिको बैठकले पुनः कार्कीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिने निणर्य गरेको छ । शनिबार बसेको क्याम्पस संचालक समितिको बैठकले उनलार्य क्याम्पस प्रमुखको जिम्मेवारीमा पुनः जिम्मेवारी दिने निणर्य गरेको हो ।
सञ्चालक समितिका १९ जनामध्ये १४ जनाको उपस्थितमा सर्वसम्मत रुपमा उहाँलाई पुनः जिम्मेवारीमा फर्काउने निणर्य गरेको सञ्चालक समितिका अध्यक्ष पुष्प ढकालले बताउनुभयो । उहाँले घटनाको विषयमा अदालतबाट सफाई पाएकाले हामीले कार्कीलाई नै क्यापस प्रमुखमा निरन्तरता दिएको र यो विषयलाई अनावश्यक प्रचारबाजी गर्न आवश्यक नरहेको समेत बताउनु भयो ।
यता क्याम्पस संचालक समिती सदस्य गोपाल कटवालले सवारी दुर्घटनाबाट सफाइ पाइसकेपछि क्याम्पस प्रमुखको रुपमा पुन समितिले निणर्य गरि राखिएको भएपनि नेकपा एमालेले अदलतले प्रमाणित नगरेको विषयमा तथ्यहिन र अप्रमाणित आरोपकै भरमा कार्कीलाई हटाउन दबाब दिएर बिज्ञप्तीबाजी गरिरहेको बताए ।
यता क्याम्पस प्रमुख कार्कीले आफु सम्मानित अदालतबाट सफाइ पाएको बताउदै समितिले गरेको निणर्यलाई आफुले मानेको बताए, तर एमालेले पार्टिगत नेताहरुको निर्देशन नमानेको भन्दै तथ्य र प्रमाण बिनाका कुराहरु जोडेर मिथ्या प्रचार गरी समाजिक रुपमा आफ्नो चरित्र हत्या गर्न उद्धत रहेको बताए ।
कार्कीले भने भवितब्य सडक दुर्घटनाका कारण घटना दुखद भएपछि पीडित पक्षसँग मिलापत्र भइसकेको अवस्थामा आधारहिन र कपोकल्पित तरिकाले भ्रम सिर्जना गरेको भन्दै कार्कीले आपत्ती जनाए ।
यता क्याम्पस संचालक समितीको बैठकको निणर्यलाई लिएर नेकपा एमाले उर्लाबारीले विज्ञप्ती जारी गर्दै कार्कीको पुर्नवहालीको विरोध गरेको छ ।
नेकपा एमाले नगर अध्यक्ष गंगाप्रसाद बाँस्तोलाद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ- ‘उर्लाबारी नगरपालिकाको एकमात्र उच्च शिक्षा प्रदान गर्ने शैक्षिक धरोहरको रुपमा रहेको उर्लाबारी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख जस्तो गरिमामय र जिम्मेवारी युक्त पदमा नैतिक तथा समाजिक रुपमा निस्कलङकित नेतृत्व स्थापित गर्नुपर्नेमा सामाजिक न्याय र सिद्धान्त विपरित नैतिकतामाथी नै प्रश्न चिन्ह खडा भई हाल सम्मानित न्यायलयमा मुद्धा अभियोजन भई २५ दिन हिरासतमा बसी एक हप्ता अघि मात्र धरौटीमा रिहाई भएर सामाजिक रुपमा प्रश्न चिन्ह उठेका खेमराज कार्कीलाई निलम्वन गर्नुपर्नेमा पुनः क्यम्पस प्रमुखको जिम्मेवारी क्याम्पस संचालक समितीको निणर्य घोर आप्पती जनक, निन्दनिय तथा खेदपुणर् रहेको हाम्रो ठहर छ । सामान्यताय यस्ता विवादित विषयको निणर्य पक्रिया सर्वसम्मत विधिबाट गरिनुपर्नेमा जिम्मेवार पदाधिकारीहरु तथा सदस्यहरुको अनुउपस्थितीका विच बहुमतिय विधिद्वारा निणर्य गरिनुलाई न्यायसंगत भएको देखिदैन, यसर्थ सामाजिक र नैतिक रुपमा योग्य, कर्मशिल र जिम्मेवार नागरिक उत्पादन गर्ने उच्च शैक्षिक सस्थाको नेतृत्व नैतिक र सामाजिक रुपले हाल विवादित रहेका तथा विद्यार्थीको नजरमा स्खलित हुन पुगेका व्याक्तीलाई पुनः क्याम्पस प्रमुखको भुमिकामा स्थापित गराउन गरिएको निणर्य अविलम्व फिर्ता गरी निजलाई कार्वाही प्रक्रिया आगाडी बढाउन आम उर्लाबारी बासी, शिक्षाप्रेमी, समाजसेवी, सम्पुणर् राजनैतिक दलहरु र विद्यार्थीहरुमा हार्दिक अपिल गर्दछौ।’
यस्तै सोही निणर्लाई लिएर एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु उर्लाबारी बहुमुखी क्याम्पस कमिटीले पुनः कार्कीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएकोप्रति खेद प्रकट गरेको छ । अध्यक्ष गौतमबुद्ध तामाङ र सचिब चिराग श्रेष्ठ (दिङ्ले) ले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘क्याम्पस प्रमुखको जिम्मेवारी दिने विषयमा पुर्नविचार नगरेमा त्यसबाट हुन सक्ने क्षतिको भागिदार क्याम्पस सञ्चालक समिति हुनेछ ।’
यस्तै उनको पुर्नवहालीलाई लिएर शुक्रबार साँझ नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीले समेत एक विज्ञप्ती जारी गरेको छ । युवा संघ नगर अध्यक्ष नितम चौहानद्वारा हस्ताक्षरीत सो विज्ञप्तीमा संचालक समितिको निणर्य पुनर्विचार गरी आरोपीलाई निलम्बन गरी शैक्षिक वातावरण स्थिर रुपमा कायम गर्न सरोकारवालाहरुमा अनुरोध गर्दै प्रेस विज्ञप्तिलाई बेवस्ता गरेको पाइएमा आईपर्ने घटनाको जिम्मेवारी संचालक समितिले लिनुपर्ने चेतावनी दिईएको छ ।
यस्तो थियो प्रहरीमा दर्ता भएको कार्की माथिको मुद्दाः
गत साउन ३२ गते शुक्रबार करिब ४ बजेतिर मोरङको कानेपोखरी गाउपालिका-७ मा कार्कीले चलाएको प्र-१-०१-०१६ प ८२३५ नम्बरको मोटरसाईबलबाट लडेर बोहोरा घाईते भएकी थिईन । घाईते बोहोरालाई स्थानिय प्रहरी र कार्कीको सहयोगमा उपचारका लागि उर्लाबारी मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर ल्याईएको थियो ।
त्यहा बोहोरोको उपचार सम्भव नभएपछि थप उपचारका लागि सोही दिन साझ ७ः४० बजे विराटनगर स्थित विराट शिक्षण अस्पताल रिफर गरिएको थियो । कार्कीको माटरसाईकलमा सवार बोहोराको सोमबार विहान ४ः१५ बजे उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको थियो ।
बोहोराको उपचारका क्रममा मृत्यु भएपछि उनको परिवारले ईलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए । जाहेरी पश्चात प्रहरीले ५४ वर्षीय कार्कीलाई नियन्त्रणमा दिएर सवारी ज्यान मुद्दा चलाएको थियो प्रहरीमा परेको किटानि जाहेरीका आधारमा अनुसन्धान हुदै जादा कार्किको मुद्दामा गत भदौ २८ गते मोरङ जिल्ला अदालतले सफाई दिएको हो ।
ADVERTISEMENT