उर्लाबारी, १२ असोज । निरन्तरको वर्षासँगै आएको बाढीका कारण मोरङमा ९४ परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदाका ९४ परिवार विस्थापित भएका हुन् ।
रंगेली नगरपालिका–२ लक्ष्मीपुरका १६ परिवार विस्थापित भएका छन् । उनीहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेकाे छ । रंगेली नगरपालिका– ९ मा डाँस खोलाको बाढी खोलाधार टोलमा पसेपछि २२ परिवार विस्थापित भएका छन् ।
बाढीबाट विस्थापित भएकाहरुलाई दोहमना बजारमा राखिएको छ । विराटनगर महानगरपालिका- २ र कटहरी गाउँपालिका १ का स्थानीय पनि विस्थापित भएका छन् ।
सिंघिया खोलामा आएको बाढीका कारण विराटनगर – २ का ३ परिवार आफन्तको घरमा सरेका छन् । कटहरी– १ बख्खु टोलका ४ परिवार विस्थापित भएका छन् । उनीहरुलाई नारी विकास संघकाे भवनमा राखिएकाे छ । सिंघियाकैबाढीका कारण जहदा गाउँपालिका १ धुनी टोल सरबरीयाबस्तीमा २५ घर डुबानमा परेका छन् । उनीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।
धनपालथान गाउँपालिका–३ बेतौना टोलका २४ परिवार विस्थापित भएका छन् । मंगलबारे नहरमा पानीको बहाव बढेर बाढी गाउँमा छिरेपछि उनीहरु विस्थापित भएको प्रहरीले जनाएको छ ।
विराटनगरको दक्षिणपश्चिम क्षेत्रका केही बस्ती पनि डुबानमापरेका छन् । केशलिया खोलामा आएको बाढी र परेको पानी निकास नहुँदा बस्ती डुबानमा परेको हो । प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार केशलिया खोलामा आएको बाढी बस्तीमा पसेको हो । बाढी प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।