उर्लाबारी । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा भएको उपनिर्वाचनको मत गणना सकिएको छ ।
कुल १८ हजार ५७७ मत खसेकोमा १८ हजार २०७ मत सदर भएको छ । ३७० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कुल सदर मत १८ हजार २०७ को १० प्रतिशत मत १ हजार ८२१ मत ग्रामथानको अध्यक्ष पदमा उम्मेदवारी दिएका १६ जना उम्मेदवार मध्ये १३ उम्मेदवारले कटाउन सकेनन् । माओवादी, कांग्रेस र एमाले बाहेकका उम्मेदवारको १० प्रतिशत मत नकटेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० प्रतिशत मत नकटाउनेमा राप्रपाका दिनेशकुमार थन्दार (दिवेश)ले ५५५, रास्वपाका नवीनकुमार विश्वासले ३७५, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझीले २३३, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्माले १४४, स्वतन्त्र उम्मेदवार नमनारायण चौधरीले १३०, नागरिक उन्मुक्ति पार्टीका बुद्धिचन विश्वासले ८९, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सुरेशकुमार राजवंशीले ४७ मत प्राप्त गरेका छन्।
त्यसैगरि मंगोल नेशनल अर्गनाइजेसनका भरत राईले ४५, जनमत पार्टीका विनोदकुमार माझीले ४२, कमल थापा नेतृत्वको राप्रपा नेपालका राजु मुसहरले २७, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का पर्शुराम विश्वास थारुले २६,
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का धर्मेन्द्रकुमार चौधरीले १८, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरीले १५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐेन २०७९ को दफा ६३ अनुशार कुल सदरमतको १० प्रतिशत मत नकटाए जमानत जफत हुने व्यवस्था छ ।
गत असार ३ गते ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएका कारण आज उपनिर्वाचन भएको थियो ।








