काठमान्डौ । नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर पहिलो च्याम्पियन बनेको हो । जनकपुरले १८५ रनको लक्ष्य ५ विकेटको क्षतिमा १९ ओभर २ बलमा भेट्टायो ।
जितसँगै जनकपुरले एनपिएल ट्रफी र नगद एक करोड १० लाख पुरस्कार राशी पनि हात पारेको छ । १८५ रनको चुनौतीपूणर् लक्ष्य पछ्याएको जनकपुरको जितमा ओपनर ब्याटर लहिरु मिलान्था नायक रहे ।
उनले ४९ बलमा ८७ रनको पारी खेले । जसमा ९ चौका र ४ छक्का प्रहार गरे । उनी स्कट कगलाइनको बलमा आउट हुनुपूर्व खेललाई एकतर्फी बनाइसकेका थिए । उनीबाहेक कप्तान आशिफ शेखले १९ बलमा ३३, हर्ष ठाकरले ३० रनको योगदान दिए ।
सुदूरपश्चिमका तर्फबाट बलिङ र फिल्डिङ निकै निराशाजनक रह्यो । ब्याटरले गरेको उत्कृष्ट प्रदर्शन बलरले दोहोर्याउन नसक्दा सुदूरपश्चिमले हार ब्यहोरेको छ । जनकपुरलाई जिताउन भूमिका खेलेका मिलान्थाले सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिँह ऐरीबाट एक पटक जीवनदान पाए । यस्तै हर्ष ठाकरको क्याच पनि ब्रान्डन म्याकमुलनले एक पटक छाडेका थिए ।
सुदूरपश्चिमका स्कट कगलाइन, सैफ जैब, इशान पाण्डे र दीपेन्द्रले एकरएक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका ओपनरद्वय विनोद भण्डारी र सैफ जैफले ११७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । जसमा जैबले ४३ बलमा ६९ रन बनाए । जसमा ८ चौका र २ छक्का सामेल छन् । यस्तै विनोदले ३१ बलमा ४१ रनको योगदान दिने क्रममा तीन छक्का र एक चौका प्रहार गरेका थिए ।
तर त्यसपछिका ब्याटरले राम्रो ‘फिनिसिङ’ गर्न नसक्दा सुदूरपश्चिम २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रनमा रोकिएको थियो ।
सुुरुमा चुकेका जनकपुरका बलरले स्लग ओभरमा खेलमा फर्कने क्रममा किशोर महतो र मोहम्मद मोहसिनले ३/३ विकेट लिए । यस्तै जिम्मी निसम र ललित राजवंशीले एक/एक विकेट लिएका थिए ।